अध्यक्षलाई राजीनामा बुझाएर निस्केका मन्त्री आले प्रधानमन्त्री भेट्न जाँदै

अध्यक्षलाई राजीनामा बुझाएर निस्केका मन्त्री आले प्रधानमन्त्री भेट्न जाँदै

नेकपा एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषय पेचिलो बनिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले राजीनामा दिनुहुने भएको छ । अहिले केहीबेरमा प्रधानमन्त्रीलाई राजीनामा बुझाएर साँझ मन्त्रालयमा पत्रकार सम्मेलन गरी यसबारे सम्पूर्ण जानकारी गराउने तयारी छ ।

हिजो पार्टी बैठकमा ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गर्नुभएका आलेले आज बिहानै अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राजीनामा बुझाउनुभएको थियो । अहिले उहाँ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार निस्किनुभएको छ ।

‘अराजनीतिक’ भनिने मन्त्री आलेले नै नैतिकता देखाउँदै राजीनामाको निर्णयमा पुगेपछि मन्त्री छोड्न आनाकानी गरिरहेका अरु तीन जनालाई समेत दबाब परेको छ । हिजो साँझ प्रधानमन्त्री देउवालाई भेटेर मन्त्रीमा निरन्तरता दिन गरेको आग्रह असफल भएपछि स्वास्थ्यमन्त्री विरोध खतिवडा,शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम मन्त्री किसान श्रेष्ठले पनि आजै राजीनामाको तयारी गरिसकेको बताइन्छ ।

एकीकृत समाजवादीले गत जेठ २७ गते नै पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँलाई पठाउने निर्णय गर्दै प्रधानमन्त्री देउवालाई सिफारिस पठाएको थियो ।

तर, मन्त्रीहरुले आफूहरुलाई हटाए सरकार ढालिदिने चेतावनी दिएपछि प्रधानमन्त्री देउवाले समाजवादीको निर्णय कार्यान्वयन गर्नुभएको छैन ।

टिप्पणीहरू