झाँक्रीले सुँक्कसुँक्क गर्दै मन्त्रीको जिम्मेवारी छाड्दा आले प्रफुल्ल
नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीले आज राजीनामा दिएका छन् । शहरी विकास मन्त्री रामकुमारी झाँक्री र पर्यटन मन्त्री प्रेम आलेले पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गरेका हुन् ।
आलेले अपरान्ह र झाँक्रीले साँझ आ–आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन गरेका थिए । राजीनामा घोषणा गर्न साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी झाँक्री धुरुधुरु रोइन् । कर्मचारीले प्रगति विवरण सुनाउँदा उनले आँशु झार्दै सुक्कसुक्क गरेकी हुन् ।
कार्यक्रमको सुरुदेखि भावविह्ल भएकी झाँक्रीले आफू बोल्न सक्ने हालतमा नरहेको बताइन् । पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्न गर्न उनले आग्रह गरिन् । तर, पहिलो प्रश्नमै उनी रुन थालिन् ।
उनले मन्त्रालयलमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए । भावुक मन्त्री झाँक्रीले आफूलाई गाह्रो भएको बताउँदै बोल्ने कार्यक्रम पछाडि धकेलेपछि मन्त्रालयले बिदाइको चिनो दिने कार्यक्रम गरेको थियो ।
यता सामान्य हाउभाउका साथ प्रस्तुत भएका मन्त्री आलेले भने पदबाट राजीनामा दिए पनि सांसदको भूमिकामा रहिरहने र विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहने बताए । ’म यहाँबाट बिदा भएर सिंहदरबारबाहिर सांसदको भूमिकामा रहिरहने नै छु । विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहिरहने छ । समयले मागेमा म सुधारका लागि नेतृत्वमा पुनः फर्किने नै छु’, मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
आफूले मन्त्रालयमा २६३ दिन बिताएको उल्लेख गर्दै ती दिनहरु बितेको आफूलाई पत्तो नभएको बताए । आलेले आफू आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको पनि बताए । जनताले आफ्नो कामको समीक्षा गर्ने उनको भनाइ थियो । उनले कागजमा मात्रै काम गरेकाहरु आफ्नो निगरानीमा पर्ने गरेको बताए । ’पिँधमा बस्नेहरुभन्दा टाकुरामा बस्नेहरु सधैं मेरो निगरानीमा परे’, उनले भने ।
एकीकृत समाजवादीले पार्टीबाट सरकारमा पठाइएका मन्त्री परिवर्तन गर्ने निर्णय गरेको थियो । तर, मन्त्रीहरु बिदा हुन नमान्दा पार्टीमा विवाद चर्किएको हो । स्वास्थ्य मन्त्री विरोध खतिवडा र श्रम मन्त्री किसान श्रेष्ठले राजीनामा नदिए पनि भर्खरै भएको मन्त्रिमण्डल पुनगर्ठनमा उनीहरु हटाइएका छन् ।
टिप्पणीहरू