बेनी आक्रमणको स्मृतिमा संरचना बन्ने
-अमृत बास्कुने
म्याग्दीको बेनीमा तत्कालीन माओवादी जनयुद्धका बेला भएको सैन्य आक्रमणको स्मृति झल्किने संरचना बन्ने भएको छ । ‘यातना पीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस’को अवसरमा द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीले आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले यस्तो घोषणा गरेका हुन् ।
दशवर्षे द्वन्द्वले पारेको प्रभाव र त्यतिबेला भएका घटनाबारे उठेका सवालमाथि टिप्पणी गर्दै उनले अब कुनै प्रतिशोधको भावना नराखी त्यतिबेलाका घटनाक्रमलाई स्मृतिको रुपमा संस्थागत गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै, नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले द्वन्द्वपीडितको घाउमा मल्हम लगाउन आवश्यक पहल थालिने बताइन् । जनयुद्धले देशमा गणतन्त्र, सङ्घीयता ल्याएको र कतिपय अधिकारहरु संविधानमा लेखिएकाले अब कार्यान्वयन गर्नका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले छुट भएका द्वन्द्वपीडितहरुको नाम समावेश गर्न स्थानीय तहले आवश्यक पहल गर्नुपर्ने बताउँदै जुनसुकै समयमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको बताए । नगरपालिकाका १० वटै वडाका अध्यक्ष, नगर कार्यपालिका सदस्य र द्वन्द्वपीडित परिवारका सदस्यहरु सहभागी कार्यक्रम द्वन्द्वपीडित अधिकार मञ्चका जिल्ला अध्यक्ष भीमबहादुर रिजालको अध्यक्षता, सचिव सुरेन्द्र खत्रीको सञ्चालन र सहसचिव मिना कार्कीको स्वागतमा सम्पन्न भएको थियो ।
बेनी नगरपालिका र एड्भोकेसी फोरमको सहयोग, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालको समन्वयमा जनप्रतिनिधि, सरोकारवाला र द्वन्द्वपीडितहरुलाई लक्षित गरेर आयोजित कार्यक्रममा दशवर्षे सशस्त्र द्वन्द्वले पारेको प्रभावलाई स्मृतिमा उतार्ने विषयमा सरोकारवालाहरुले आ-आफ्ना धारणा राखेका थिए ।
द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले पुनः भीमबहादुर रिजालको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मिना कार्की, सचिवमा सुरेन्द्र खत्री, कोषाध्यक्षमा देवीकुमारी केसी, सहसचिवमा डोलकुमारी बानियाँ, सदस्यहरुमा योगेन्द्र बानियाँ, जमुना खत्री, ठकबहादुर पूर्जा र देउमाया बुढाथोकी रहेका छन् ।
माओवादी जनयुद्धका दौरान भएका ठूला हमलामध्ये बेनी आक्रमणलाई पनि लिने गरिन्छ । आक्रमणमा राज्य र माओवादी दुवैतर्फ ठूलो क्षति भएको थियो।



टिप्पणीहरू