काठमाडौंमा हैजा लाग्नेको संख्या १२

काठमाडौंमा हैजा लाग्नेको संख्या १२

पछिल्लो सातादेखि फैलिएको हैजाका कारण राजधानी उपत्यकामा हालसम्म १२ जनामा हैजा देखिएको छ । तीमध्ये आठ जना निको भएर घर फर्के पनि चार जनाको अस्पतालमा उपचार भइरहेको हो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले हैजाको प्रकोप देखिन सक्ने सम्भावनालाई विचार गरेर अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा निर्देशक दासले उक्त जानकारी दिएका हुन् । चार जना बिरामीको अहिले टेकु अस्पताल, पाटन अस्पताल र बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंको बागबजार र डिल्लीबजार तथा ललितपुरको सानेपा क्षेत्रको पानीमा हैजाको जीवाणु भेटिएकाले सो क्षेत्रका वासिन्दामा उक्त जोखिम धेरै देखिएको हो । हालै गरिएको नमुना परीक्षणमा राजधानीका बोरिङ, पम्प, जार र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गरेको खानेपानी अधिकांश प्रदूषित पाइएको छ ।

यसैबीच कोरोना महामारीको नयाँ लहरको सम्भावना बढेकाले हैजाको महामारी पनि थपिए अवस्था भयावह हुनेतर्फ सचेत रहन सांसदहरुले सुझाव दिएका छन् ।

टिप्पणीहरू