दिलमायाँ मृत्यु प्रकरणमा खिलबहादुरलाई थुनेर वयान लिन अदालतको मन्जुरी
लोकदोहोरी गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा समातिएका खिलबहादुर श्रेष्ठलाई जिल्ला अदालत,काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । महानगरीय प्रहरी वृत्त,बालाजुका प्रहरी नायव उपरीक्षक (डिएसपी) गौतम मिश्रले आज अदालतले पाँच दिनको म्याद थप गरिदिएको जानकारी दिनुभएको हो ।
गायिका सुनारको मृत्यु प्रकरण शंकास्पद देखिएपछि प्रहरीले सिन्धुपाल्चोकका खिलबहादुरलाई हिजो नियन्त्रणमा लिएको थियो । गोठाटारमा सुन पसल सञ्चालन गरिरहेका खिलबहादुर र दिलमाया लिभिङ्ग टुगेदरमा बस्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
हिजो साँझ सुर्खेतबाट काठमाडौं आएका उनको बुबा केशर बिकले खिलबहादुरविरुद्ध किटानी जाहेरीसमेत दिइसकेका छन् । महानगरीय प्रहरी वृत्त,बालाजु पुगेर उनले मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएका हुन् ।
गायिका दिलमाया अस्ति बिहान तारकेश्वर नगरपालिका– ११ नेपालटारस्थित आफ्नो डेरामा मृत फेला परेकी थिइन् । घरधनीले उनी मृत फेला परेको जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी पुग्दा शव ओछ्यानमै थियो । घाँटीमा नीलडामबाहेक अन्य कुनै चोटपटक नभएको प्रहरीको भनाइ छ ।
शुरुमा आत्महत्या भनिएपनि विषको बोतल र झुण्डिएको सल नभेटेपछि प्रहरीले हत्याको शंका गरेको थियो । दिलमायाको शव पोस्टमार्टमका निम्ति महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ । प्रहरीले महाराजगञ्जस्थित कतारभिसा सेन्टर नजिकै रहेको झाडीबाट दिलमायाको सल फेला पारेको छ । तर,हालसम्म पनि मोबाइल भने फेला पार्न नसकेको डिएसपी मिश्रले बताउनुभयो ।
मिश्रका अनुसार अहिले सबै जनासंग बयान लिने काम भइरहेको छ । त्यसैगरी,दिलमायाको शव व्यवस्थापन गर्नका लागि दोहोरी गीत प्रतिष्ठानले सहयोग गर्ने भएको छ ।
टिप्पणीहरू