वामदेवको पार्टीमा दुई जना पदाधिकारी

वामदेवको पार्टीमा दुई जना पदाधिकारी

तत्कालीन नेकपा विभाजनपछि ‘एकता राष्ट्रिय अभियान’ चलाउँदै आउनुभएका राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टी गठन गर्नुभएको छ । आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर उहाँले औपचारिकरुपमा पार्टी घोषणा गर्नुहुनेछ ।

नयाँ पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ हुने बताइएको छ । निर्वाचन आयोगमा दर्ता भएका र नभएका गरी पाँचवटा दलसँग मिलेर गौतमले उक्त पार्टी गठन गर्नुभएको हो ।

वामदेवसँग मिसिएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी र नेकपा राष्ट्रवादी पार्टी निर्वाचन आयोगमा दर्ता छन् भने आम नेपाली पार्टी,र स्वतन्त्र वामपन्थी समूह दर्ता छैनन् । यिनै समूह सम्मिलित भएर पार्टी घोषणा गर्न लागेको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिएका छन् ।

असार ११ गते ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा ‘पार्टी एकता राष्ट्रिय अभियान’को दोस्रो भेलाले ६९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । भेलापछि असार १२ गते चन्द्रागिरि रिसोर्टमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामको पार्टी बनाउने निर्णय गरेको हो ।

तीन महिनाभित्र निर्वाचन आयोगमा दल दर्ता गर्ने पाण्डेको भनाइ छ । पार्टी संयोजकमा गौतम आफै रहनु भएको छ भने सचिव डीबी कार्कीलाई तोकिएको छ ।

टिप्पणीहरू