चितवनमा सचेतनामूलक पुस्तक बाँडियो
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवन र रत्ननगर नगरपालिकाले संयुक्त आयोजना गरिएको कार्यक्रममा सचेतनामूलक पुस्तक वितरण गरिएको छ । ‘जनचेतनामूलक पाठ्यसामाग्री २०७९’ हस्तान्तरण कार्यक्रममा ‘चेतनामूलक विद्यालय पाठ्यसामग्री–२०७९’ नामक पुस्तक ३०० थान वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले यौनजन्य हिंसा, आत्महत्या न्यूनीकरण, साइबर अपराध, सडक दुर्घटना र यसले निम्त्याउने असर, प्रहरी सेवा, लागुऔषधको दुरुपयोग, सामाजिक विकृति न्यूनीकरण गर्न विद्यालय सम्पर्क कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।
उहाँले स्थानीयस्तरमा पाठ्यक्रममा नै समाविष्ट हुने गरी सोसम्बन्धी पाठ्यक्रम निर्धारण गर्न सरोकारवालालाई घच्घच्याउँदै पुस्तकको बारेमा संक्षिप्त विश्लेषण गर्नुभएको थियो ।

कार्यक्रम प्रहरी उपरीक्षक अधिकारीको अध्यक्षता र रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
रत्ननगर नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय सुरक्षा निकायका प्रमुखहरु, नगरपालिकाका शाखा प्रमुख तथा पदाधिकारी, सबै वडाका वडा–अध्यक्षहरू, सदस्यहरू, कार्यपालिका सदस्य, चितवनका सम्पूर्ण सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिको कार्यक्रममा सहभागिता थियो । त्यसैगरी रत्ननगर नगरपालिका अन्तर्गतका सरकारी, सामुदायिक तथा निजी विद्यालय र क्याम्पसका प्रधानाध्यापक, सहप्रधानाध्यापक, क्याम्पस प्रमुख, महिला अधिकारकर्मीहरू, समाजसेवी, पत्रकार तथा संचारकर्मीहरु पनि उपस्थित थिए ।

टिप्पणीहरू