प्रचण्ड र केपीले लिउलाई एक्लै भेटेर के राखे होलान् प्रस्ताव ?
सर्वोच्च अदालतको ०७७ फागुन २३ को आदेशबमोजिम विभाजित हुनुअघिसम्म एउटै पार्टी नेकपामा सँगै रहेका सबैजसो कम्युनिष्ट नेतासँग चिनियाँ राष्ट्रपति सि चिन्फिङका विशेष दूतको हिजोसम्म भेटवार्ता सम्पन्न भइसकेको छ । एमाले, माओवादी र समाजवादीका नेताहरुसँग दलबलसहित भेट भएको खबरबारे त मुलुक जानकार नै छ ।
सोमबार दिउँसो ४ बजेदेखि सवा ६ बजेसम्म खुमलटार र साँझ सवा ७ देखि ९ बजेसम्म सोल्टी होटलमा माओवादी नेताहरुले लि जियान्छाओसँग भेटेको समाचार पनि बाहिर आएको छ तर त्यसदिन दोभाषे सरलालाई राखेर प्रचण्डले चिनियाँ प्रतिनिधिमण्डलका प्रमुखसँग छुट्टै गरेको ४० मीनेट लामो अन्तरंग संवादबारे भने विस्तृत विवरण सार्वजनिक हुन बाँकी नै छ ।
माओवादी अध्यक्षका निजी सचिव जोखबहादुर महराका अनुसार सामुहिक भेटघाट सकिएपछि दुवैतिरका सबै सहभागीलाई बिदा गरेर दुई जना फेरि वार्तामा बसेका थिए । प्राप्त समाचारअनुसार अमेरिकी हस्तक्षेप र केही चीनविरोधी गतिविधिसहित एसपिपी रोक्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले प्रचण्डको प्रशंसा गरेका थिए भने त्यस अवसरमा वाम एकताको सम्भावनाबारे थप जिज्ञाशा राखिएको थियो । यसचोटि पनि चिनियाँले आफूलाई वामपन्थी भन्ने पार्टीहरु एकजुट भइदिए हुन्थ्यो, मिलेर अघि बढे हुन्थ्यो त भने तर यो नेपालको आन्तरिक मामिला हो भन्दै हस्तक्षेप नगर्ने मनस्थिति दर्शाए । किनभने उनीहरु नेपाली कम्युनिष्टहरुका झँै–झगडाबारे सबै कुरामा जानकार छन् ।
भेटमा जियान्चाओले जुन पार्टीले राष्ट्रिय स्वाधिनता र आफ्नो आत्मनिर्णयको अधिकार रक्षा गर्न सक्दैन, उसले विकास पनि गर्न सक्दैन भने । प्रचण्डले भने हाइड्रोपावर, रेल, सडक जे बनाए पनि एउटा नमूना र देखिने सहयोग चीनबाट अपेक्षा गरेको बताएका थिए । खुमलटारको छलफलपछि चिनियाँ पाहुनाको सम्मानमा सोल्टीमा आयोजित रात्रिभोजमा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति, चिनियाँ कम्युनिष्ट पार्टी, त्यहाँको सरकार र दुई देशको सम्बन्धमा केन्द्रित रहेर थप अन्तक्र्रिया भएको थियो । सो क्रममा माओवादी नेताहरूले रुस–युक्रेन युद्ध, श्रीलंकाको पछिल्लो अवस्था, चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुको कार्यकाल र भूपूहरुको भूमिकालगायतका विषयमा जिज्ञासा राखेका थिए ।
एकजना नेताले श्रीलंका संकटमा बाह्य, विशेषतः चिनियाँ संलग्नताबारे सोधे । जियान्चाओले भने, ‘आफ्नो देशको व्यवस्थापन आफैँ गर्नुपर्छ ।’ श्रीलंकाले लत्तो छाडेर बाह्य हस्तक्षेप स्विकारेपछि त्यहाँको परिस्थिति बिग्रिएको उनको भनाइ थियो । अर्का नेताले रुस–युक्रेन युद्धबारे प्रश्न राख्दा जवाफ दिए, ‘युक्रेन र रुस हैन, नाटो र रुसको कुरा हो यो ।’ उनले रुस–युक्रेन समस्या शान्तिपूर्ण बाटोबाट समाधान होस् भन्ने चाहना आफूहरूको हुँदाहुँदै पनि नाटोका कारण परिस्थिति बिग्रेको संकेत गरे । ‘जेलेन्स्की र पुटिनले भोज खाए समस्या हल भइहाल्छ नि’ ठट्टा गर्दै उनले भनेको माओवादी नेताले सुनाए ।
नेतृत्व हस्तान्तरणबारे कुरा उठ्दा उनले चीनमा सरकारमा पाँच वर्षका दरले दुई कार्यकालभन्दा बढी पदमा रहन नमिल्ने व्यवस्था रहेको तर राष्ट्रपति एवं महासचिवका हकमा भने यो बन्देज हटाइएको सुनाए । भने, ‘नेता रिटायर्ड भएपछि आफ्नो गृहनगरमा फर्किन्छन् र पहिलाको भन्दा झन् राम्रो काम गरेर बस्छन् ।’ माओवादी नेताहरूसँगको कुराकानीमा अन्तर्राष्ट्रिय विभाग प्रमुख जियान्चाओले कांग्रेस नेताहरूसँगको कुराकानीले आफूहरू उत्साहित भएको समेत बताएका थिए । उनले भने ‘कसैले रेल, कसैले बाटो र कसैले हाइड्रो प्रोजेक्टका कुरा गर्नुभयो ।’
जियान्चाओ आएको यो तेस्रोचोटि रहेछ, तर विदेश विभागको प्रमुख भएपछि पहिलो देशका रुपमा उनी नेपाल भ्रमण गरिरहेका छन् ।
टिप्पणीहरू