राजेन्द्र लिङ्गदेनमाथि भ्रष्टाचारी च्यापेको आरोप
देशै गणतन्त्रमय भएका बेला ०६३/६४ सालतिर एक्लै राजावादीहरुको बिँडो थाम्न उभिएका कमल थापालाई विस्थापित गरी राप्रपाको नेतृत्वमा आउँदा राजेन्द्र लिङदेनप्रति युवा पुस्ताको राम्रै आकर्षण देखिन्थ्यो । एकातिर प्रमुख राजनीतिक दलहरुप्रतिको बितृष्णा, अर्कोतिर भ्रष्टाचारविरुद्ध उनका सनसनीपूर्ण अभिव्यक्तिको सामाजिक सञ्जालमा राम्रै चर्चा हुने गरेको थियो ।
लिङ्ग्देन अध्यक्ष निर्वाचित हुनुमा पनि उनको भ्रष्टाचारविरोधी त्यहि छवि नै मुख्य कारण थियो भनिन्छ । तथापि राप्रपाले स्थानीय चुनावमा गणनायोग्य सिट भने जित्न सकेन । तर,राप्रपाले प्राप्त गरेको सफलताका पछाडि ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर हो’ भन्ने उनको त्यतिबेलाको भाषणले पनि भूमिका खेलेको बताइन्छ ।
तर,अहिले उनै लिङ्गदेनमाथि भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लागेको छ, त्यो पनि पार्टीभित्रैबाट । सुशासनको चर्को नारा दिई अध्यक्ष जितेर राष्ट्रिय राजनीतिमा स्थापित हुँदै गरेका उनीमाथि ठगी र भ्रष्टाचारको मुद्दामा जेल जीवन बिताएका पुष्पराज पुरुष र सरस्वती अधिकारीलाई ‘च्यापेर’ पुराना र इमान्दार नेता-कार्यकर्ताको ‘घाँटी रेटेको’ आरोप लागेको हो ।
“पुष्पराज नेटवर्किङ व्यापार भन्दै हर्बो व्यवसायमा करोडौँ ठगी गरेको आरोपमा थुनामा परेका थिए । अहिले उनी जोगीको भेषमा हिँड्ने गर्दछन् । सरस्वती पनि सरकारी जग्गा मिलेमतो गरी करोडौँ रकम हिनामिना गरेको आरोपमा जेल परेकी थिइन् ।”
लिङ्गदेनले केन्द्रीय कमिटीमा मनोनित गरेका पुष्पराज नेटवर्किङ व्यापार भन्दै हर्बो व्यवसायमा करोडौँ ठगी गरेको आरोपमा थुनामा परेका थिए । अहिले उनी जोगीको भेषमा हिँड्ने गर्दछन् । सरस्वती सरकारी जग्गा मिलेमतो गरी करोडौँ रकम हिनामिना गरेको आरोपमा जेल परेकी थिइन् । उनीहरुविरुद्ध अदालतमा अहिले पनि मुद्धा विचाराधीन रहेको छ ।
‘हामीले उहाँलाई नैतिक र इमान्दार हुनुहुन्छ भन्ने ठानेरै अध्यक्ष बनाउन निकै मेहनत गरेको हो । तर,किन यस्ता बिबादित मान्छे टिपेर केन्द्रीय कमिटीमा मनोनीत गर्न हतार गर्नुभयो आश्चर्यमा परेका छौँ’, राप्रपाका एक जना नेताले भने । यसलाई राप्रपा वृत्तमा ‘कम्बल ओडेर घिउ खाने’ प्रवृत्तिको संज्ञा दिइएको छ । कतिपयले लिङ्ग्देनलाई ढोँगी नेताको रुपमा पनि चित्रित गर्ने गरेका छन् ।
तर,केन्द्रीय सदस्य पुष्पराजले भने लिङ्ग्देनविरुद्ध मोर्चाबन्दी गर्नेहरुले अनावश्यकरुपमा आफ्नो विषय उछालेको बताए । आरोप लाग्दैमा पार्टीको जिम्मेवारी लिन नमिल्ने भए नेपालका कुनै पनि राजनीतिक दल चल्नै नसक्ने प्रतिक्रिया दिएका उनले भने, ‘मुद्धा लाग्नेबित्तिक्कै पार्टी छोड्न पर्ने हो भने कांग्रेस,कम्युनिष्ट कुनै पनि पार्टी रहँदैन । त्यसैले अदालतमा मुद्धा विचाराधीन छ । मेरो पक्षमा फैसला आयो भने पार्टीमा बस्छु नभए छोड्छु, के ठूलो कुरा भयो र !’
पार्टीभित्रको पुराना र नयाँको लडाईको चेपुवामा आफूहरुलाई पारिएको उनको गुनासो छ । त्यस्तै उनले अदालतमा मुद्धा विचाराधीन रहेकै बेला विक्रम पाण्डेलाई किन उपाध्यक्ष बनाएको भनेर पनि आरोप लगाउनेहरुलाई सोधेका छन् । ‘उहाँ (पाण्डे)ले सफाई पाएको एक महिना पनि भएको छैन, तर उपाध्यक्ष त पहिले नै बन्नुभएको हो नि ! कि हामीहरु नयाँले मात्र जिम्मेवारी लिन नहुने भनेको हो !’, उनले भने । दिपक मनाङ्गे मन्त्री भएको देशमा यस्ता कुरा उछालेर राजनीति नगर्न उनले पार्टीका नेताहरुलाई सुझावसमेत दिएका छन् ।
त्यतिमात्र होइन, महाधिवेशनमा पराजितहरु पनि लिङ्देनको रोजाईमा परेको असन्तुष्टहरु बताउँछन् । पार्टी एकताका नाममा भित्र्याएका कतिपय पात्रका कारण पनि उनको आलोचना हुने गरेको बताइन्छ । यस्तै कारणले राप्रपामा आहिले देखिएको विवादको श्रीगणेश गरेको उनीहरुको भनाइ छ । पछिल्लो समय त एकले अर्कालाई कारवाही र निषेध गर्न थालेपछि बजारमै छरपष्ट हुने गरी आन्तरिक किचलो चर्किएको छ ।
अध्यक्ष लिङ्गदेनले पार्टी हितविपरित अनुशासनहीन काम गरेको भन्दै नेताहरु दिलनाथ गिरी,दिलविकास राजभण्डारी,श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठलाई २४ घण्टे लिखित स्पष्टीकरण सोधेकोमा उनीहरुले उल्टै दर्जनौँ आरोप लगाएका छन् । लिङ्ग्देनको यो निर्णयलाई उनीहरुले ‘नाङ्ग्लो ठटाएर हात्ती तर्साउने” सस्तो र तल्लोस्तरको खेलको संज्ञासमेत दिएका छन् । पार्टी नेतृत्वविरुद्ध घेरावन्दी गरेको आरोपको खण्डन गर्दै उनीहरुले लिङ्ग्देन सर्वसत्तावादी बाटोमा हिँडेको बताएका छन् ।
टिप्पणीहरू