गृहमन्त्रीको निर्देशनमा डिएसपीले वडाध्यक्षलाई पोखरीमा फालेको आरोप, एमाले युवा संघको घेराउ कार्यक्रम
बुटवलका डिएसपी ठगबहादुर केसीले वडाध्यक्षलाई पौडी पोखरीमा धकेलिदिएपछि चर्को विवाद शुरु भएको छ । तिलोत्तमा नगरपालिका ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले डिएसपीले आफूलाई मार्न खोजेको आरोप लगाएका छन् ।
डिएसपीलाई कारवाहीको माग गर्दै वडाध्यक्ष क्षेत्रीले भने, ‘यो ममाथि गरिएको ठूलो अन्याय हो, ज्यान लिन खोजियो, मलाई पोखरीमा धकेल्ने डिएसपीलाई कडा कारवाही होस् ।’
तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न प्रहरी परिचालन गरिएको थियो । त्यसक्रममा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको स्वीमिङ पुलमा धकेलिदिएका थिए ।
नगरप्रमुख रामकृष्ण खाँण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको भूमिकालाई लिएर एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै आएका छन् ।
एमाले निकट राष्ट्रिय युवा संघ नेपालले गृहमन्त्री बालकृष्ण खाँणको आडमा निर्वाचित जनप्रतिनिधिमाथि प्रहरी ज्यादती भएको भन्दै आज नगरपालिका घेराउ गर्न लागिएको जनाएको छ । नगरप्रमुख खाँण गृहमन्त्रीका आफ्नै भाइ हुन् ।
टिप्पणीहरू