पर्यटनमन्त्रीको नयाँ योजना, सातै प्रदेशमा प्रतिष्ठान स्थापना
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै वटा प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताउनुभएको छ ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिन काठमाडौंको रविभवनस्थित प्रतिष्ठान कार्यालय पुग्नुभएका मन्त्री श्रेष्ठले प्रतिष्ठानका सेवा मुलुकका सातै प्रदेशमा विस्तार गरिने बताउनुभएको हो ।
उहाँले पर्यटन क्षेत्रको विकास र विस्तारका निम्ति सिपमूलक जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै भन्नुभयो, ‘होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्वन्धी शिक्षा र तालिम कार्यक्रम विस्तार गर्नुपर्ने छ ।’
होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्बन्धी शिक्षा र तालिम प्रदान गर्ने एक मात्र सरकारी निकायका रुपमा रहेको प्रतिष्ठानले गुणस्तरीय प्राविधिक शिक्षा प्रवाह गर्नुपर्ने उहाँको भनाइ छ ।
त्यसका लागि सबै प्रदेशमा प्रतिष्ठानका शाखा विस्तार गरी सञ्चालनमा ल्याउने र यसबाट पर्यटनको विकास र विस्तारमा सहयोग पुग्ने उहाँको विश्वास छ । गत आर्थिक वर्षमा झापा, महोत्तरी र बाँकेमा प्रतिष्ठानका शाखा कार्यालयहरु स्थापना भएका छन् ।
प्रतिष्ठानले हालसम्म ५७ हजार ५ सय ७२ जना दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । गत आर्थिक वर्षमा झण्डै १५ सय जना शैक्षिक कार्यक्रममा सामेल भएका थिए । उत्पादित जनशक्तिमध्ये ९० प्रतिशतबढी रोजगारीमा आबद्ध भएको बताइएको छ ।
टिप्पणीहरू