करार कर्मचारीको पक्षमा अध्यक्षहरुको संस्था
स्थानीय सरकारले करारमा कार्यरत कर्मचारीको सम्झौता नवीकरण नगरी धमाधम हटाउन थालेको घटनाप्रति गाउँपालिका राष्ट्रिय महासंघले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङले करारका कर्मचारीको उचित व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।
न्यून संख्याका कर्मचारीबाट स्थानीय सरकार सञ्चालन गर्न बाध्य भएको उल्लेख गर्दै जारी संयुक्त विज्ञप्तिमा महासंघले करारमा कार्यरत कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गर्न आग्रह गरेको हो ।
महासंघले लोकसेवा आयोगबाट सिफारिस भएर नआएसम्म अनुभवी जनशक्तिको सम्झौता म्याद थप गरी स्थानीय सरकारको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनेतर्फ केन्द्रित हुनुपर्ने बताएको छ । सन्तोषजनक कार्यसम्पादन गरिरहेका कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी सेवा लिनु स्थानीय सरकारका लागि अवसर रहेको विज्ञप्तिमा उल्लेख छ ।
गाउँसभाबाट स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिम दरबन्दीमा रहेका करार सेवाका कर्मचारीको हकमा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर आएमा स्वतः करार अवधि समाप्त हुने महासंघको भनाइ छ ।
‘हाल कार्यरत अनुभवी जनशक्तिलाई उनीहरुको कार्यक्षमताको कुनै मूल्याङ्कन नगरी एकमुष्ठ हटाउने र पुनः सोही पदमा करारमा नियुक्ति गरिनु न्यायिक तथा रोजगारीको हकको दृष्टिकोणबाट समेत उपयुक्त हुँदैन । यो अभ्यासले स्वयम् गाउँपालिकाको कार्यसम्पादनमासमेत प्रभावकारिता आउँदैन’, विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू