युएन मिशनको फोर्स हेडक्वार्टरमा मध्यराती लुटपाट,सेनाहरु कट्टु र गन्जीमै भागाभाग
कंगोस्थित संयुक्त राष्ट्रसंघ (युएन) मोनुस्क मिशनको फोर्स हेडक्वार्टरमा आगजनी र लुटपाट भएको छ । युएन मिशनविरुध्द आन्दोलनमा उत्रिएका स्थानीयले फोर्स हेडक्वार्टरमा आक्रमण गरी भौतिक संरचना तोडफोड र आगजनी गर्नुका साथै लुटपाट मच्चाएका हुन् ।
अस्ति साउन ९ गतेदेखि विभिन्न माग राखी गोमा शहरमा भएको स्थानीयको प्रदर्शनले उग्ररुप लिँदा हिजो राती उक्त घटना भएको त्यहाँस्थित नेपाली सेनाका जवानले बताएका छन् । ब्राजिलियन फोर्स कमाण्डर जर्नेल छुट्टीमा गएको मौका छोपेर प्रदर्शनकारीले ‘गो ब्याक युएन’ भन्दै बाटोघाटो छेकी नारावाजीसहित हेडक्वार्टर कब्जा गरेपछि मिशनमा खटिएका सैनिकहरुको मध्यराति कट्टु र गन्जीमै भागाभाग भएको बताइन्छ।
युएनविरुध्द केही समययता त्यहाँ चर्को प्रदर्शन भैरहेको छ । ६ महिनाअघि स्थानीयले बिद्रोहीसँग मिलेर नेपाली सेनाको हत्या गरेका थिए । अहिले पनि उनीहरुको प्रदर्शन युएनको नियन्त्रण बाहिर पुगेको,स्थानीय सेना र प्रहरी मूकदर्शक बनेको बताइएको छ ।
यता,सैनिक जनसम्पर्क निर्देशनालयले भने मिशनमा तैनाथ सम्पूर्ण नेपाली सेना तथा पर्यवेक्षकहरु सुरक्षित रहेको जानकारी दिएको छ । साथै,सेनाका सम्पूर्ण युनिट तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अपनाउन,परिस्थितिको निरन्तर अनुगमन गर्न तथा श्री शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन जंगीअड्डाले निर्देशनसमेत दिएको छ ।
युएन हेडक्वार्टरमा तैनाथ नेपाली कर्णेलहरु भेषबहादुर केसी र अच्युतम भण्डारीसहितलाई बुनिया र बेनीस्थित गणमा सुरक्षार्थ जान भनिएको छ । भण्डारी कम्युनिस्ट नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदाका अङ्गरक्षक हुन् ।
विदेशीका जहाज आउने र खानीबाट हिरा ओसार्ने तर आफ्ना सेना,प्रहरीसहित कर्मचारीले महिनौंसम्म तलब नपाउने अवस्थाका कारण कङ्गोमा असन्तुष्टि चुलिदै गएको थियो ।
टिप्पणीहरू