बलात्कारी कैदीको उपत्यकामा बाढी

बलात्कारी कैदीको उपत्यकामा बाढी

यतिखेर काठमाडौंका कारागार भरिभराउ छन् । कारागार व्यवस्थापन विभागका अनुसार विगतको भन्दा दोब्बर कैदीबन्दी विभिन्न मुद्दामा सजायँ भुक्तान गरिरहेका छन् । आपराधिक कार्यमा दोषी ठहर भई सजायँ भोगिरहेका वा मुद्दा पुर्पक्षमा रही उपत्यकाको जेलमा रहेकाको संख्या तीन हजार ७३५ छ ।

पहिलापहिला ज्यान मुद्दाका कैदी सबभन्दा धेरै हुने गर्थे भने अहिले त आधाभन्दा धेरै कैदी जबर्जस्ती करणी र लागुऔषध मुद्दाका छन् । तथ्यांकअनुसार बलात्कार र लागुऔषध मुद्दाका मात्रै दुई हजार ३१५ कैदी जेलमा छन् । कोरोना महामारी शुरु भएपछि अपराधजन्य गतिविधिको पारो उक्लेको पाइन्छ । यसरी अपराधको संख्या र स्वरुप बढेको छ । समाजमा नैतिकता घटेको छ ।

०७८ र २०७९ को असार मसान्तसम्म तुलना ग¥यो भने कैदीबन्दी बढेको स्पष्ट हुन्छ । कर्तव्य ज्यानमुद्दा घटेको छ भने चोरी, लागुऔषध, जबर्जस्ती करणीलगायतका दोषी बढेका छन् । न्यायाधीशले आँखा चिम्लेर पुर्पपक्षमा पठाइहाल्ने गरेका कारण जबर्जस्ती करणीतर्फ पोहोरभन्दा एक सय ५९ बढी कैदी कारागारमा छन् । पोहोर त्यस्ता बन्दी एक हजार ४१ थिए भने अहिले बढेर एक हजार १२०० पुगेको छ ।

त्यसैगरी, लागुऔषध कारोबारमा सजायँ काटिरहेकाको पनि थुप्रो लागेको छ । त्यस्तो मुद्दामा सजायँ भोग्नेको संख्या एक हजार सातबाट बढेर एक हजार ११५ पुगेको छ । यता, चोरी गरेबापत जेल जानेको संख्या पनि केही हदसम्म बढेको पाइन्छ । अघिल्लो वर्षभन्दा त्यस्ता प्रतिवादी यो वर्ष ४२ जना बढी रहेको प्रहरीले जनाएको छ । चोरीमा जेल चलान हुनेहरु २६६ बाट बढेर ३०८ पुगेका छन् ।

कर्तव्य ज्यान र डाँका मुद्दामा भने कैदीबन्दीको संख्या घटेको विभागका महानिर्देशक वासुदेव घिमिरेले बताए । ज्यान मुद्दाका ८१९ जना कैदी जेलमा छन् । पोहोर ९१५ जना मान्छे मारेको कारण जेल परेका थिए । उता, डाँकामा २९३ जनाले कैद सजायँ भुक्तान गरिरहेका छन् । घिमिरेले पछिल्लो समय लागुऔषध र बलात्कार मुद्दाका कैदीबन्दी झनै बढेको जानकारी दिए ।

लागुऔषध मुद्दामा सजायँ काट्नेमध्ये अधिकांश युवा छन् । भर्खरका किशोरकिशोरी नै लागुऔषध मुद्दामा जेल चलान भएको पाइन्छ । सप्तरी, चितवन, पर्सा, बारा, रूपन्देहीलगायत जिल्लाका युवायुवती लागुऔषध ओसारपसारमा बढी संलग्न रहेको विभागको तथ्यांकले बताउँछ । विभागका अनुसार जबर्जस्ती करणीमा भर्खरका किशोरदेखि लिएर बूढासम्मले सजायँ काटिरहेका छन् ।

बलात्कारमा यो उमेरसमूह भन्नै नसकिने महानिर्देशक घिमिरेको भनाइ छ । ‘हरेक उमेर समूहले बलात्कारमा सजायँ काटिरहेका छन्,’ उनले भने । कारागारमा कैदीको संख्या ह्वात्तै बढ्नुले सामाजिक चेतना स्तरलाई प्रष्ट पारेको छ । नेपाली समाज कुन दिशातिर उन्मुख भइरहेको छ ? महिलाका लागि यो समाज कत्तिको सुरक्षित छ ? यसको जवाफ उल्लेखित तथ्यांकले दिन्छ ।

लागुऔषध र मदिरा सेवन तथा बढ्दो सामाजिक विचलन, घट्दो मानवीय संवेदना आदि कारणले पनि बलात्कारका घटना धेरै भइरहेको जानकारहरूको भनाइ छ । लागुपदार्थ सेवन गरेपछि मानिस जे गर्न पनि हौसिन्छ । जसले गर्दा महिलालाई सम्साँझै, एक्लै र आफन्तबाटै बचेर हिँड्न गाह्रो पर्न थालेको छ ।

लुटपाट, चोरीडकैती, हिंसा पनि लागुऔषधकै एउटा अंग हो । साथीभाइको गलत सुझाव, कानुनको कडाइका साथ पालना नहुनुले समाजलाई नै बेथितिको दलदलमा फसाइरहेको छ । लागुऔषध सेवन गरेपछि आनन्द प्राप्त हुन्छ भन्ने भ्रमले जघन्य अपराध निम्त्याइरहेको जानकारहरू बताउँछन् ।

टिप्पणीहरू