हिमानी शाह ७ जनाको टोलीसहित अष्ट्रेलियामा, अमेरिकी राजदूत बेरी काठमाडौंमा
पूर्व युवराज्ञी हिमानी शाह अष्ट्रेलिया जानुभएको छ । उहाँ पूर्व राजपरिवारका सदस्यहरुसहित गए राति सिंगापुर एअरलाइन्सको उडानबाट सिंगापुर हुँदै त्यता जानुभएको हो ।
अष्ट्रेलियामा आगामी शुक्रबार जनै पूर्णिमाको दिन हुने हिमानी ट्रष्टको कार्यक्रममा सहभागी हुन टोली गएको ट्रष्टले बताएको छ । पूर्व अधिराजकुमारीहरु दिलाशा राज्यलक्ष्मी, सिताष्मा राज्यलक्ष्मीसहितको टोली हिजो राति साढे ११ बजे उडान नम्बर एसक्यु ४४१ बाट त्यसतर्फ गएको हो ।
हिमानी ट्रष्टकी संस्थापक शाहसँग साउन २७ गते अर्थात अगष्ट १२ तारिखका दिन डिनर खाने कार्यक्रमको चाँजोपाँजो सिड्नीमा मिलाइएको छ । त्यो साँझ न्यू साउथवेल्सको पार्लियामेन्ट हाउसस्थित स्ट्रेन्जर्स हलमा डिनर कार्यक्रमको आयोजना गर्न लागिएको छ । फन्डरेजिंग अर्थात नगद संकलनको उद्देश्य राखिएको डिनरमा सहभागी हुन प्रत्येक व्यक्तिले १ सय ५० अष्ट्रेलियन डलर तिर्नुपर्ने हुन्छ ।
कार्यक्रममा प्रमुख अतिथि शाह भए पनि अतिथिका रुपमा न्यूसाउथवेल्सका बहुसांस्कृतिक मन्त्री मार्क कुरेलाई बोलाइएको आयोजक संस्थाले यसअघि नै जानकारी गराएको छ ।
पाँच दिनको सिड्नी बसाइमा अधिकांश समय युवराज्ञी शाहले औपचारिक कार्यक्रम र भेटघाटमै बिताउने खबर छ । भोलि महिला सशक्तिकरणसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने भनिएको छ । उक्त कार्यक्रममा अतिथि वक्ताको रुपमा न्यू साउथवेल्सकी महानगर सडक,महिला सुरक्षा र पारिवारिक हिंसा रोकथाम मन्त्री नटाली पेटा वार्ड सहभागी हुने बताइन्छ । कार्यक्रममा सहभागी हुनका लागि त्यहाँ पनि ७५ डलर प्रतिव्यक्ति प्रवेश शुल्क तोकिएको छ ।
यसैबीच कार्यकाल सकाएर स्वदेश फर्कने क्रममा रहनुभएका नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी हिजो साँझ अमेरिकाबाट काठमाडौं आउनुभएको छ । उहाँ कतार एअवेजको उडान नम्बर क्युआर ६४६ को दोहा–काठमाडौं उडानबाट बिदाइ भेटघाटको निम्ति आउनुभएको हो । राजदूतको साथमा अन्य चार जना पनि रहेको बुझिएको छ ।
टिप्पणीहरू