जापानबाट प्रचण्डको घोषणा : चितवनबाटै चुनाव लड्छु
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन-३ बाटै उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
जापान भ्रमणमा रहनुभएका प्रचण्डले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा यसअघि चुनाव जितेको चितवन क्षेत्र नम्बर ३ बाटै आफूले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा उहाँले देशका अन्य क्षेत्रबाट चुनाव लड्न प्रस्ताव आएको भएपनि चितवन-३ नछोड्ने प्रष्ट पार्नुभयो ।
‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन,चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु’ उहाँले भन्नुभयो । हिजोमात्रै माओवादी केन्द्र चितवन जिल्ला कमिटी बैठकले चितवन-३ बाट प्रचण्ड उम्मेदवार हुने निर्णय गरेको थियो ।
यसअघि गोरखा, सिन्धुली,सिरहा, कालिकोटलगायत जिल्लाका माओवादी कार्यकर्ताले प्रचण्डलाई उम्मेदवारका लागि आग्रह गरेको चर्चा थियो । प्रचण्डले पनि देशका विभिन्न ठाउँबाट आफूलाई निर्वाचन लड्नका लागि अनुरोध आएको बताउनुभयो ।
‘मलाई चुनाव लड्नपर्यो भनेर रुकुम,गोरखा, धनुषा,सिरहा, कालीकोटका साथीहरुले भन्नुभएको छ,भित्रैदेखि भन्नुभएको छ’ उहाँले अगाडि भन्नुभयो, ‘साथीहरुलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास ब्यापक रुपले हुन्थ्यो,जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ । तर सबैलाई धन्यवाद भन्दै मचाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु ।’
माओवादी शान्ति प्रक्रियामा आएयताका तीनवटा निर्वाचनमा प्रचण्डले फरक–फरक क्षेत्रबाट चुनाव लड्नुभएकाले यसपटक पनि यस्तो चर्चा भएको हो । २०७४ सालको निर्वाचनमा चितवन–३ बाट धेरै मतान्तरले विजयी हुनुभएका प्रचण्ड त्यसअघि २०७० को दोस्रो संविधानसभा चुनावमा काठमाडौँ–१० र सिराहा–५ बाट उम्मेदवार हुनुहुन्थ्यो । तर, उहाँ सिराहा–५ बाट मात्रै विजयी हुनुभयो ।
त्यसअघि २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा भने उहाँ काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित हुनुभएको थियो ।
टिप्पणीहरू