सजिलो त कहाँ छ र स्वतन्त्रबाट माननीय बन्नलाई !

सजिलो त कहाँ छ र स्वतन्त्रबाट माननीय बन्नलाई !

रवीन्द्र मिश्र र डा. बाबुराम भट्टराईहरुको ‘वैकल्पिक राजनीति’को ‘पसल’ नचलेर बन्द हुने अवस्थामा पुगेका बेला स्थानीय निर्वाचनमा बालेन्द्र साह,हर्क साम्पाङ्ग राई र गोपी हमालहरुको अप्रत्यासित उदयले ०७४ पछि सुस्ताएकाहरु पुन: स्वतन्त्रका नाममा जुर्मुराउन थालेका छन् । धेरैले चुनावको मिति घोषणा नहुँदै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेर चुनाव केन्द्रित अभियानसमेत थालेका थिए । मङ्सिर चार गते चुनाव हुने भएसँगै त्यो क्रम अझै बढेको छ ।

अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा उल्लेखनीय मत ल्याएर पराजित भएकी तत्कालीन विवेकशील पार्टीकी रन्जु दर्शनादेखि सामाजिक तथा राजनीतिक अभियन्ता पुकार बमसम्मले प्रतिनिधिसभा सांसदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भटराईपुत्री तथा नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य मानुषी यमी भट्टराई,स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा पराजित भएका अभियन्ता सुमन सायमी, विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे,सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे (मुकुन्दे) लगायत पनि काठमाडौँका विभिन्न क्षेत्रबाट उठ्ने तयारीमा रहेको बताइएको छ ।

मौजुदा राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टी र स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको सफलताले लोभिएर स्वतन्त्रहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहँदा वैकल्पिक राजनीतिबाट किनारा लागेका रवीन्द्र मिश्र पनि लड्ने तयारीमा छन् । हालै एक सार्वजनिक कार्यक्रममा उनले काठमाडौँ-१ बाटै आफ्नो उम्मेदवारी रहने बताएका थिए । ‘बिचारभन्दा माथि देश’ को आवरणमा राजतन्त्रतिर फर्किएका उनले सम्भवत: राप्रपाको हलो चिन्हमा उम्मेदवारी दिनेछन् ।

“विवेकशील,स्वतन्त्रजस्ता पार्टीको मतको स्रोत एउटै हो । अर्को कुरा,बाहिर जति ठूलो भीड जम्मा गरेपनि मतदानका बेला ‘सूर्य’, ‘रुख’,हँसिया हथौडा’,”कलम”,”हलो” मात्रै देख्ने मतदाताको मनोविज्ञान छ । त्यसलाई चिरेर ‘हामी विकल्प हौँ’ भन्ने विश्वास दिलाउनु पर्ने आफैँ विभाजित भएकाहरुलाई किन मत दिने भन्ने प्रश्न उठ्ने नै भयो ।

यहीबीच स्वतन्त्र उम्मेदवारी घोषणा मात्र होइन, ‘स्वतन्त्र’ फुर्को झुन्ड्याएर पार्टी गठनसमेत भैसकेको छ । टेलिभिजनमा ठूलो आवाज र सनसनीपूर्ण टिप्पणी गरेर चर्चा बटुलेका पूर्वसञ्चारकर्मी रवि लामिछाने अध्यक्ष रहेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ यतिबेला देशव्यापी चुनावी अभियानमा जुटेको छ । आफ्नै परिवारका सदस्य र थुप्रै शुभचिन्तकलाई विश्वासमा लिन नसकेको आरोपका बीच लामिछाने घन्टी बजाउँदै भोट मागिरहेका छन् ।

वैकल्पिक राजनीतिको नारा नरुचाएका वा त्यसमा विश्वस्त हुन नसकेका मतदाताले यतिधेरै स्वतन्त्र र त्यही नाममा खोलिएका पार्टीका उम्मेदवारलाई चाहिँ विश्वास गरिहाल्लान् त ? लामो राजनीतिक संघर्षबाट स्थापित भएका र जनस्तरसम्म संगठनको जालो बनाएका पार्टीहरु सहजै कमजोर हुने सम्भावना देखिंदैन । अझ आफैँ एकतावद्ध हुन नसकेर छरिएका स्वतन्त्र उम्मेदवारले राजनीतिक दलका उम्मेदवारलाइओ पराजित गरेर वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको यात्रा सुनिश्चित गर्नु कम चुनौतिपूर्ण भने छैन ।

विवेकशील, स्वतन्त्रजस्ता पार्टीको मतको स्रोत एउटै हो । अर्कोकुरा,बाहिर जति ठूलो भीड जम्मा गरेपनि मतदानका बेला ‘सूर्य’, ‘रुख’,हँसिया हथौडा’ मात्रै देख्ने मतदाताको मनोविज्ञान छ । त्यसलाई चिरेर ‘हामी विकल्प हौँ’ भन्ने विश्वास दिलाउनु पर्ने आफैँ विभाजित भएकाहरुलाई किन मत दिने भन्ने प्रश्न उठ्ने नै भयो ।

“प्रमुख पार्टी र तिनका नेताको आलोचना गर्नुबाहेक भोट दिउँदिउँ लाग्ने गरी स्वतन्त्र पार्टीले अहिलेसम्म के-के गरे ? भन्ने प्रश्न त छँदैछ साथै स्वयं लामिछानेमाथि उठेका कयौँ प्रश्नहरुको उत्तर अहिलेसम्म मतदाताले पाएका छैनन् । त्यसैले टेलिभिजनमा चर्को बोलेका कारण आकर्षित भएको भीडलाई मतमा कन्भर्ट गर्नु उनका लागि कम चुनौतिपूर्ण छैन । “

यही तथ्य बुझेका रवि लामिछानेले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको भोट समेट्न पार्टी खोलेका हुन् । तर, उनलाई पनि चुनाव जित्न त्यति सजिलो देखिंदैन । प्रमुख पार्टी र तिनका नेताको आलोचना गर्नुबाहेक भोट दिउँदिउँ लाग्ने गरी स्वतन्त्र पार्टीले अहिलेसम्म के-के गरे ? भन्ने प्रश्न त छँदैछ साथै स्वयं लामिछानेमाथि उठेका कयौँ प्रश्नहरुको उत्तर अहिलेसम्म मतदाताले पाएका छैनन् । त्यसैले टेलिभिजनमा चर्को बोलेका कारण आकर्षित भएको भीडलाई मतमा कन्भर्ट गर्नु उनका लागि कम चुनौतिपूर्ण छैन ।

अमेरिकी नागरिकता लिएका लामिछाने एकाएक राजनीतिमा आउनुमा पश्चिमाको योजनावद्ध रणनीति भएको दावी गर्नेहरु पनि छन् । त्यस्तै, ‘द लिडर’ कार्यक्रमका लागि उठाएको करोडौँ रकम किन फिर्ता नगरेको, सामाजिक जीवन पारदर्शी नदेखिएको, उनीविरुद्ध अमेरिकामा मुद्धा चलेकोलगायतका प्रश्नहरु पनि उठेका छन् । सुशासनका सम्बन्धमा अरुमाथि चर्का प्रश्न उठाएर आफू स्थापित हुन चाहने लामिछाने स्वयं यस्ता प्रश्नबाट उम्कन सक्दैनन् । अझ निर्वाचनमा जाँदै गरेको एउटा नयाँ पार्टीको अध्यक्षका हैसियतले पनि यी र यस्ता प्रश्नको चित्त बुझ्दो जवाफ दिनै पर्छ ।

यही तथ्य बुझेका लामिछाने समानुपातिकमा बस्ने तयारीमा छन् भनिन्छ । पार्टीका उम्मेदवारलाई जिताउन देशैभर खटिनुपर्ने कारण देखाएर उनी प्रत्यक्ष चुनाव नलड्ने योजनामा रहेको निकटहरुले बताएका छन् । तर, समानुपातिकमा बसेर सुरक्षित हुने उनको चाहना पनि सहजै पुरा हुने देखिंदैन । किनभने कुनै पनि दलले राष्ट्रिय पार्टीको मान्यता नपाए उसले समानुपातिक सांसद पाउँदैन । राष्ट्रिय पार्टीको मान्यता पाउन एक जना प्रत्यक्षमा निर्वाचित हुनुका साथै ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनु पर्ने हुन्छ । अन्यथा जति भोट प्राप्त गरे पनि त्यो खेर जाने हो ।

त्यसैले पहिलो पटक जनतामा परीक्षण हुन लागेका पार्टीका नेताले आफूलाई समानुपातिक बन्दसूचीमा सुरक्षित राखे पनि सांसदको लोगो टाँस्ने रहर पूरा गर्न भने त्यति सजिलो हुने देखिंदैन ।

https://www.facebook.com/permalink.php?story_fbid=pfbid03tXNzAt9gtdK9b3ytbAfDqEPFFPy9FR8n6M8ubpBUkfjeTGJqz2KZ3b9uh5PkLqJl&id=100074723952317

टिप्पणीहरू