नागरिकता विधेयक फिर्ताबारे माओवादी अहिले नबोल्ने

नागरिकता विधेयक फिर्ताबारे माओवादी अहिले नबोल्ने

सत्तारुढ नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरेको विषयमा तत्काल प्रतिक्रिया नदिने बताउनुभएको छ । यसबारे पार्टीले औपचारिक धारणा सार्वजनिक गर्ने भएकाले तत्काल आफ्नो कुनै टिप्पणी नरहेको उहाँले प्रतिक्रिया दिनुभयो ।

उहाँले राष्ट्रपति भण्डारीको पत्र अध्ययन गरेर संविधानसम्मत ढंगले अघि बढ्ने पनि बताउनुभएको छ । जनआस्थासँग कुरा गर्दै गुरुङले भन्नुभयो, ‘विधिको शासनमा विश्वास गर्ने भएकाले सबै कुरा संविधानसम्मत हुनुपर्छ भन्ने हो । राष्ट्रपतिले पनि संविधानको अक्षरश: पालना गर्नुपर्छ । विधेयक फिर्ताको विषयमा के गर्ने भन्ने पार्टीमा छलफल गरेर धारणा बनाउँछौं ।’

राष्ट्रपतिले कुन दफा उल्लेख गरेर विधेयक फिर्ता गरेको हो त्यो प्रष्ट नभएकाले अहिले टिप्पणी गर्न नसक्ने उहाँको भनाइ छ । ‘समग्र प्रक्रियाका बारेमा प्रश्न उठाएको हो या कहाँ के नमिलेको हो भन्ने विषयमा प्रष्ट भएपछि मात्रै थप कुरा गर्न सकिन्छ’, गुरुङ्गले भन्नुभयो । तथापि सार्वभौम संसद्को दुवै सदनले पारित गरेर पठाएको विधेयक सामान्यतया: राष्ट्रपतिले रोक्न नमिल्ने उहाँले बताउनुभयो ।

संघीय संसद्को दुवै सदनबाट पारित भएर साउन १५ गते राष्ट्रपतिसमक्ष पेस भएको उक्त विधेयक १४ दिनपछि राष्ट्रपतिले आज साँझ फिर्ता गर्नुभएको हो । राष्ट्रपतिको उक्त निर्णयलाई लिएर सत्तारुढ नेपाली काँग्रेसले असन्तुष्टि जनाएको छ ।

टिप्पणीहरू