भट्टराई र गौतमलाई माओवादीको चुनाव चिन्ह, निर्वाचनको उपयोग मात्रै कि पार्टी एकता पनि ?
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँगको लामो छलफल पछि नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्ह लिएर नै निर्वाचनमा होमिने निर्णयमा पुग्नु भएको छ।
गौतम आफ्नो जन्म जिल्ला प्युठानबाट निर्वाचन लड्ने सर्त सहित गठबन्धनमा जान चाहेको कुरा बताइसक्नु भएको छ। तर अहिलेसम्म कुन पार्टीलाई कति सिट दिने र कुन कुन नेताले कहाँबाट निर्वाचन लड्ने भन्ने बारे गठबन्धनमा निर्णय भैसकेको अवस्था भने छैन।
गौतमले २०७४ सालको निर्वाचनमा बर्दियाबाट चुनाव हार्नु भएको थियो। आफूलाई हराउन पार्टी भित्रैबाट अन्तर्घात भएको सार्वजनिक रूपमा बताउँदै आउनु भएको छ।
एमाले विभाजन पश्चात् कतै पनि नखुलेका गौतम आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाउनु भएको थियो ,उक्त पार्टीको खास मक्सज भनेको वामपन्थीहरूको एकता रहेको गौतमले बताइसक्नु भएको छ।
केपी ओली,प्रचण्ड र माधव नेपाललाई मिलाउने र वामपन्थी एकताको अर्को बाटो पहिल्याउने गौतमको प्रयासमा भने कुनै प्रगति हुन सकेको छैन।एमाले र माओवादी केन्द्र एकता भएपछि बनेको नेकपाको समयमा प्रचण्डसँग नजिकिएका गौतम फेरी पनि प्रचण्डसँगै नजिक रही निर्वाचन पछि पार्टी एकता गर्ने निर्णय सम्म पुगेको स्रोतको दाबी छ।
माओवादी केन्द्रले आफ्नो निर्वाचन चिन्ह प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्वाचन आयोगमा गौतमको पार्टीले निवेदन दिनु पर्ने छ।
यता माओवादी केन्द्र भूकम्प पछिको रातो स्टिकर टाँसेको जोखिमपूर्ण घर भएको भन्दै माओवादी छाड्नु भएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि अन्ततः उही आफ्नै पुरानो विरासत बोकेको पार्टीको चुनाव चिन्ह लिने निर्णयमा पुग्नु भएको छ। निर्वाचन पछि पार्टी एकता गर्ने निर्णयमा पुग्नु भएको उहाँ फेरी पुरानै घरमा फर्कने हुनु भएको हो। तथापि चुनावलाई उपयोग गर्ने रणनीति पनि हुन सक्ने एक थरीको बुझाई रहेको छ।
लामो हन्डर ठक्करबाट एक्लिँदै आउनु भएका डा. भट्टराई फेरी पनि खतराको स्टिकर टाँसिएको घरमा छिमेकी बन्न आइपुग्नु भएको चर्चा हुन थालेको छ। प्रचण्डसँगको बाक्लो भेटघाट र संवादले उहाँलाई पुरानै कम्युनिष्ट विचारमा फर्काएको विश्लेषण हुन थालेको छ। यद्यपि उहाँले आफू माओवादी त के कम्युनिष्ट नै नरहेको भन्दै समाजवादी क्रान्ति गर्ने उद्घोष गर्नु भएको थियो।
नयाँ शक्ति निर्माणमा लाग्दा आफ्नै शक्ति कमजोर भएको पत्तै नपाउनु भएको डा भट्टराईले धेरै पटक पार्टीको नाम बदल्नु भयो। धेरै पार्टीसँग एकता सहकार्य गर्ने भन्दै गर्दा अन्तिममा आफ्नाहरूले एक्लो बनाउँदै गए।
अहिले उही पुरानै घरमा छिर्न एक पाइला अगाडी बढाई सक्नु भएको छ। उमेर छउन्जेल जता जता कुदे पनि बुढेसकालमा पुरानै घर सम्झेर जान लाग्नु भएको डा भट्टराईले हिजोको परिवर्तनमा जीवन उत्सर्ग गर्ने सहिद परिवार,बेपत्ता परिवार, घाइते अपाङ्ग योद्धा र हजारौँ समर्थकको साथ अवश्य पाउने देखिन्छ।
निर्वाचन आयोगले एकल या संयुक्त रूपमा दल दर्ताको लागि तोकेको समय आज सकिदैं छ। माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले, ’संयुक्त दल दर्ता नभएर माओवादी केन्द्रले आफ्नो चुनाव चिन्ह प्रयोग गर्ने दिने निर्णय गरिसकेको अवस्थामा सम्बन्धित पक्षले आफूले प्रयोग गर्ने चिन्हको बारेमा आयोगलाई जानकारी गराउनु पर्ने बताउनु भयो।
नेता पोखरेलका अनुसार अब दल दर्ता नभएर निर्वाचनमा आफूले प्रयोग गर्ने चिन्हको जानकारी गराउने मात्रै रहेको बताउनु भएको हो।
टिप्पणीहरू