विदेश गएकालाई श्रम स्वीकृति नवीकरण गर्न आग्रह

विदेश गएकालाई श्रम स्वीकृति नवीकरण गर्न आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि विदेश गएका सबै नेपालीलाई आफ्नो श्रम स्वीकृति नवीकरण गर्न आग्रह गरेको छ । श्रम स्वीकृतिको अवधि समाप्त हुनुअगावै नवीकरण गरेर आफू र आफ्नो परिवारले पाउने कल्याणकारी सेवासुविधाको उपभोग गर्न मन्त्रालयले सम्झाएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ अनुरुप वैदेशिक रोजगारीमा रहँदा भवितव्य मृत्यु भएमा श्रम स्वीकृति लिएको अवस्थामा वैदेशिक रोजगार कल्याणकारी कोषमा दाखिला गरेको रकम र विदेश जानुपूर्व नेपालमा नै गरेको बीमाबाट निज मृतकको शवको व्यवस्थापन गर्ने र परिवारलाई कानूनबमोजिम सेवासुविधा प्रदान गर्ने व्यवस्था छ ।

श्रम स्वीकृतिको अवधि सकिएपछि विदेशमा कुनै नेपालीको मृत्यु भएमा वा अन्य कुनै अकल्पनीय घटना भएमा वा गम्भीर बिरामी परेमा उनीहरुले उक्त सेवा सुविधा पाउने छैनन् । मन्त्रालयले श्रम स्वीकृति नवीकरण गरी आफ्नो अधिकार सुनिश्चित गर्न सुसूचित गराएको हो ।

वैदेशिक रोजगार विभागको वेबसाइट खोलेर आफ्नो श्रम स्वीकृतिको म्याद रहे–नरहेको चेकजाँच गरी तुरुन्त नवीकरण गर्न मन्त्रालयले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

त्यस्तै, वैदेशिक रोजगार कल्याणकारी कोष र बीमावापत दाखिला गरिने रकम सम्बन्धित मुलुकमा रहेको आफ्नो बैंक खाताबाट सोझै नेपालस्थित वैदेशिक रोजगार बोर्ड वा सम्बन्धित बीमा कम्पनीको खातामा पठाउने व्यवस्था मिलाइएको जानकारी दिइएको छ ।

टिप्पणीहरू