साढे दुई वर्षपछि माओवादीलाई हात लाग्यो शून्य

साढे दुई वर्षपछि माओवादीलाई हात लाग्यो शून्य

– मनोजकुमार कर्ण 

मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी कूल ८९ सिट हासिल गरेर सबभन्दा ठूलो दल बने पनि कांग्रेसलाई ०७४ सालपछि जुन देशी–विदेशी शक्तिको आडमा जो–जो पात्र मिलेर धोका दिएका थिए, तिनै पात्र फेरि सल्बलाएका छन् । यसरी न वामपन्थी सरकार, न गैरवामपन्थी सरकार अर्थात् बिना राजनीतिक दर्शन, सामाजिक सञ्जाल र अमेरिकी ‘सहयोग’मा निर्मित अप्राकृतिक अलायन्सबाट कांग्रेस पाखा परेको छ । प्रचण्ड प्रधानमन्त्री बने पनि सभामुख र राष्ट्रपति दुइटै एमालेले लिने र अढाई वर्षपछि आश्चर्यजनकरूपमा माओवादीबाट राष्ट्रपति, वा प्रधानमन्त्री केही पनि नरहने हात लाग्यो शून्यको अवस्था छ । 

यसबीच एमाले अध्यक्ष केपी ओलीकै चाहनामुताविक देशको सबै अंगमा पकड वा ‘कब्जा’ भएन भने उनकै भाषामा देश मध्यावधि निर्वाचनमा जाने पक्का छ । त्यति प्रष्ट हुँदा पनि माओवादीले विभिन्न स्वभाव र विचारका दल मिलाएर सरकार बनाउन तम्सनु, त्यो पनि एकीकृत समाजवादी र कांग्रेसलाई बीच बाटोमै छोडेर जानु– कुछ न कुछ गडबडीचाहिँ पक्कै छ । ओलीले देश मध्यावधि निर्वाचनमा जाने कुरा वर्तमान अलायन्स बन्नु दुई दिनअगाडि बोलेर फेरि राष्ट्रपति र सभामुख माग्नु सजिलो र सामान्य कार्यको लागि पक्कै होइन । जे होस्, दुई ठूला वामपन्थी एमाले–माओवादी तथा नवउदीयमान दल, परम्परागत राप्रपा र स्वतन्त्रहरूको सत्ताको खेललाई कांग्रेसले साक्षी किनारामा बसेर हेर्नुपर्ने अवस्था छ । कांग्रेसका महामन्त्रीद्वय आफ्नै सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्नुभन्दा रास्वपासम्मिलित वामपन्थी नेतृत्वको सरकार बन्दा द¨ पर्ने भएपछि यस्तो नतिजा नआएर अरु के आउँछ ?

१३ औं महाधिवेशनमा शेरबहादुर देउवाले सधैंका आफ्ना उत्तराधिकारी तथा बीपी कोइरालाले नेविसंघको निर्माणकालदेखि नै बनाइदिएको जोडी विमलेन्द्र निधिलाई दिएको वचन ‘अहिले मलाई सघाऊ, १४औं महाधिवेशनबाट तिम्रो पालो भयो’ लाई १४ औं महाधिवेशनसम्म पुग्दा ‘ऊ पनि लड्छ, म सभापतिमा उठ्छु’ भनेर धोखामा परिणत गरेपछि कांग्रेसमा के भयो, को कहाँ छन्, छर्लंगै छ । १४ औं महाधिवेशनताका ‘पार्टीलाई गुट, उपगुटबाट मुक्ति दिलाई जसले जिते वा हारे पनि प्राप्त मत प्रतिशतको आधारमा भाग नमाग्ने र निःशर्त सभापतिलाई सघाउने’ आफ्नै वाचाविपरीत डा. शेखर कोइरालाले नियुक्तिलगायत विभिन्न समिति, मनोनीत केन्द्रीय सदस्य, टिकट वितरण, समानुपातिक सांसद चयन आदिमा पाइलैपिच्छे आच्छु–आच्छु पारेकै हुन् । केपी ओलीले २–२ चोटि संसद विघटन गरेको परिप्रेक्ष्यमा प्रमुख प्रतिपक्षी दलको हैसियतले प्रधानमन्त्री बनेका सभापतिको शेखी झार्न ओलीसँग पटक–पटक गोप्य वार्ता गरेकै हुन् । 

पछिल्लो संसदीय निर्वाचनमा किन गगन थापाले आफू काठमाडौं–४ छोडेर सर्लाहीबाट डा. अमरेश सिंहको टिकट खोस्न खोजे अनि फेरि काठमाडौं फर्किंदा त्यहाँ उनीविरुद्ध रवि लामिछानेले किन उम्मेदवार उठाएनन् ? गगन थापा एक उत्साही युवा र वाकपटुतामा माहिर, आन्दोलनको अग्रभागमा देखिने हुँदा उनलाई नै नेपालमा सबैथोक मान्नेको संख्या उल्लेखनीय छ तर पार्टीलाई एकढिक्का बनाई काम गर्नु छ भन्ने अनुशासन पालना गर्न कहिल्यै जानेनन् । १५ औं महाधिवेशनताका सभापतिमा शेखरलाई सघाउने शर्तमा हाल कांग्रेस संसदीय दलको नेता बन्न खोजेका गगनले भन्दै आएको ‘पुस्तान्तरण’ भयो त ? ३३ जना सांसदको मत आउनुपर्नेमा जम्मा २५ मत किन पाए ? देउवालाई दोष दिनुभन्दा आफ्ना ८ जना धोखेबाज सांसद र डा. शेखरमाथि किन प्रश्न उठाएनन् गगनले ? चुनावमा सत्तागठबन्धनका उम्मेदवारविरूद्ध लागेर विपक्षी अलायन्स वा रास्वपाजस्ता शंकास्पद गोटीहरूलाई जिताउन खोज्नेहरूले राष्ट्रपतिले सरकार बनाउन धारा ७६ (२) अनुसार ७ दिने म्याद दिँदा उल्टै हामी सभापतिको यो मान्दैनौं, त्यो मान्दैनौं भनेर माओवादीमा चरम् अविश्वास उत्पन्न गराई एमाले कित्तामा जान बाध्य बनाइदिए । यस्तै चालामालाले भोलि यदि डा. शेखर सभापति वा गगन संसदीय दलको नेता नै बने भने पनि उनीहरूलाई कुन अनुशासनको नाममा अरूले सहयोग गर्ने ?

(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस)

 

टिप्पणीहरू