जर्सा’बको आत्महत्यापछिका थप प्रसंग
इच्छाहरू बाँकी नै रहेछन्, तर किन बाँच्न मन लागेन ? यस्ता अनगिन्ती प्रश्न अनुत्तरित भइरहँदा जर्सा’बको सुसाइड नोट प्रहरीले भेट्टाएको छ । मंसिर २४ गते बिहान मण्डिखाटारस्थित आफ्नै घरमा मृत भेटिएका तीनतारे पूर्वजर्नेल बलदेवराज महतले आत्महत्या गर्नुअघि लेखेको सु्साइड नोटमा ‘यो मेरो आफ्नै निर्णय हो, अरु कसैको दोष छैन’ भन्दै छाप्न बाँकी दुई पुस्तक छापिदिन र जेठी छोरीतिरकी ५ वर्षीया नातिनीलाई एक करोड रूपैयाँ दिनका लागि परिवारसँग आग्रह गरिएको छ । उनले घर बाहिर निस्किँदा बोकेर हिँड्ने गरेको ह्याण्डब्यागमा सुसाइड नोट छोडेका थिए ।
प्रहरीले त्यसको फोटो खिचेर लगेको छ भने सक्कली कागजचाहिँ बुद्ध एयरका पाइलट छोरासँग छ । उनी शुक्रबार राति टिभी कोठामा छिरेको र राति नै आत्महत्या गरेको अनुमानलाई सुसाइड नोटले झुठो सावित गरेको छ । नोट लेखेको कागजमा मंसिर २४ गते, शनिबारकै मिति छ । अर्थात्, उनले बिहान ५–६ बजेतिर आत्महत्या गरेको हुनुपर्ने प्रहरीको अनुमान छ ।
जीवन त्याग्ने बलदेवको त्यो पहिलो प्रयास थिएन । किनभने, उनको मृत शरीर नियाल्नेहरूले खुट्टामा एउटा चोट देखे– ब्लेडले नशा काट्ने प्रयास गरिएको जस्तो लामो । अर्थात्, नशा काटेर जीवन त्याग्ने उनको प्रयास रहेको हुनसक्छ । सुसाइड नोटमा उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको सम्पत्तिको विवरण खुलाएका छन् । जेठी छोरीतिरकी नातिनी, अर्थात् कर्णेल पारस शाहकी छोरीलाई बकसबापत एक करोड रूपैयाँ दिन पनि त्यसमा लेखेका छन् ।
अचम्म त के भयो भने, बाबु बलदेव बितेको चौथो दिन, अर्थात् पुस २ गते उनै छोरीबाट शल्यक्रियामार्फत अर्को छोरीको जन्म भएको पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीकी पत्नीले बताइन् ।
टिप्पणीहरू