पहाडे र मधेशीको जब तुष पोखियो
पार्टीमा मधेस र पहाडको समायोजन त भयो, तर निर्णायक भूमिकामा भने पहाडलाई मधेसले च्यापेको च्याप्यै ! उपेन्द्र यादव–अशोक राई नेतृत्वको जसपामा यस्तो देखिन्छ । प्रतिनिधिसभा निर्वाचनमा अध्यक्ष उपेन्द्र यादवले पराजय व्यहोरेपछि दलको नेतामा स्वाभाविक रूपमा उनीपछिका अशोक राईको नाम आयो । तर, ‘मधेसी नै चाहिन्छ’ भन्ने पक्षको दबदबा भएपछि अशोक संसदीय दलको नेता बन्ने दौडबाट एकाएक पछाडि परे ।
सुनसरी– १ मा एमालेसँगको तालमेलबाट जितेका अशोकसँग दलको नेतामा प्रतिस्पर्धा गर्न बारा– २ बाट निर्वाचित रामसहाय प्रसाद यादवले शुरुमै उम्मेदवारी दर्ता गरे । जब रामसहायले पनि दलको नेता ताके, तब अशोकले प्रतिस्पर्धा गर्न चाहेनन् । उनलाई लागेको थियो, आफूले दलको नेता हुने इच्छा राखिसकेपछि उपेन्द्रले अरुलाई रोक्लान् । तर, उपेन्द्रका पनि ‘खास’ भनिने रामसहाय नै अगाडि बढेपछि अशोकले कि झगडा गर्नुप¥यो, कि मिलेर जानुप¥यो । यसमध्ये ‘मिलन’ को बाटो रोज्नाले रामसहाय निर्विरोध भए ।
यसरी अशोक मिल्नुको कारण हो, अहिलेको सरकारमा मन्त्री पद सुरक्षित गर्नु । मन्त्रीहरूको वरियताका दृष्टिले उनी अरुभन्दा सिनियर हुन् । ०५१ मा राज्यमन्त्री र पछि स्वास्थ्य मन्त्री रहिसकेका उनी सरकारमा गएमा उपप्रधान पनि पहिलो नम्बरको हुनुपर्ने स्थिति रहन्छ । तर, उनीभन्दा पछि मन्त्री भएकादेखि पहिलोचोटि सरकारमा गएका व्यक्ति उपप्रधानमन्त्री बनाइएका छन् । वरियताभन्दा मन्त्री नै ठूलो हो भन्दा अशोकसँग सरकारमा जाने सुविधा छ । वा, उनले समानुपातिकबाट सांसद भएकी पत्नी सुशीला श्रेष्ठलाई पठाउन सक्छन् ।
संसदीय दलमा चुनाव भएको भए अशोकसँग बहुमत हुने अनुमान उनीपक्षका सांसदहरूको छ । उनीहरूले जसपाको कूल १२ सांसदमध्ये सात जनाले मत दिने अनुमान लगाएका थिए । जसपाका सांसदमध्ये मधेसीमा प्रत्यक्षतर्फ जित्ने नवलकिशोर साह, वीरेन्द्र महतो, राजकिशोर यादव, रामसहाय यादव, प्रदीप यादव, समानुपातिकबाट आएकी रेखा यादव थापा, सहनाज रहमान र रञ्जु ठाकुर हुन् । रेखा यादवकी छोरी, थापासँग विवाह गरेकी हुन् । खस–आर्यबाट सांसद भइन् । पहाडे सांसदमा अशोकसहित दीपक कार्की, प्रकाश अधिकारी र सुशीला श्रेष्ठ छन् । यीमध्ये मधेसीमा राजकिशोर, रेखा र प्रदीपको मत अशोकले पाउने अनुमान थियो ।
उता, शनिवारको बैठकमा बाँकेबाट चुनाव हारेका इस्तियाक राइन शीर्ष नेतृत्वसँग पड्किए । एमालेसँग तालमेल गर्न वार्तामा बस्ने नेताहरूले यो सम्पूर्ण दुर्गतीको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो । ‘एमालेहरू धवलसमशेरसँग मिले, मलाई सहयोग गर्ने कुरै भएन । कांग्रेस–माओवादी गठबन्धनबाट हामी अलग्गिएपछि उनीहरूको आश भएन’, आफ्नो पराजयको कारण उनले सुनाए । हिन्दू–मुस्लिमका नाममा उम्मेदवालाई वर्गीकृत गरिएको र परिणाम पनि त्यहीअनुसार आएको उनको भनाइ थियो । उनी बैठकमा उपेन्द्र, अशोक, रामसहाय र राजेन्द्र श्रेष्ठमाथि खनिएपछि देशभरि के–के भएको थियो भन्नेबारे अध्ययन गर्न र रिपोर्ट पेश गर्न जनमुक्तिबाट आएका तनहुँका शिवबहादुर थापा मगरको संयोजकत्वमा एक समिति बनाइएको थियो ।
शनिबारको बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलसँग एकता वा सहकार्य गरेर जान सकिने कार्यदिशाबारे पनि कुरा उठ्यो । तर, निचोडमा पुगेको छैन ।
टिप्पणीहरू