बर्दीधारीको हत्या ठूलो कि भ्रष्टाचार...?

बर्दीधारीको हत्या ठूलो कि भ्रष्टाचार...?

प्रतिनिधिसभामा निर्वाचित दुई अभियुक्तमध्ये एउटालाई काखा र अर्कोलाई पाखा गरिएको विषयमा प्रश्न उठिरहेको छ । यति मात्र होइन, हत्या अभियोग ठूलो कि भ्रष्टाचार ? भन्ने विषयमा पनि तर्कवितर्क शुरु भएको छ । भ्रष्टाचार आरोपी सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् । हत्याआरोपी सांसद लक्ष्मी महतो भने संसद भवन छिर्दै छन् । कांग्रेसका गुरु¨ मनाङ र एमालेका महतो महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । हाल महतो कानुनको आँखामा फरार छन् । २०७२ को मधेस आन्दोलनताका सशस्त्र प्रहरीका असई थमन विकलाई मारेको आरोपमा धनुषा जिल्ला अदालतमा महतोविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो । आन्दोलनकारीले खेतमा लखेटी–लखेटी आक्रमण गरेपछि गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर क्रुर हत्या गरिएको थियो । नेपाल प्रहरीको छानबिन प्रतिवेदनले पनि उक्त हत्या आरोपमा महतो मुख्य योजनाकारका रूपमा औंल्याएको छ । 

रेशमको नजिर देखाएर शपथ 

प्रतिनिधि सभाको निर्वाचनका बेला महोत्तरी गौशालाका महतो जनता समाजवादी पार्टी (जसपा) त्यागेर एमाले प्रवेश गरे । एमालेले महोत्तरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनायो । महतो (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यसबीच रेशम चौधरीलाई शपथ खुवाइसकेको नजिर तेस्र्याउँदै विरोधका स्वरहरूलाई दबाउन खोजिँदैछ । 

महतोविरुद्ध चलेको कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरले १९ मंसिर २०७७ मा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । उनका नाममा पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा सुरक्षाकर्मीकै सामुन्ने शपथ लिई सांसदको लोगो लगाउन मिल्ने कि नमिल्ने ? अर्का अभियुक्त गुरु¨विरुद्ध काठमाडौँको फनपार्कमा जग्गा भाडा लगाउँदा भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले १६ जनाविरुद्ध २०७५ सालमा ३१ करोड रूपैयाँको बिगो मागदाबी गरेको छ । 

संसदमा सरासर, अदालतमा बेखबर 

प्रतिनिधि सभा निर्वाचनमा समेत महतोले वारेसमार्फत उम्मेदवारी दिएका थिए । निर्वाचित भएपछि पनि वारेसमार्फत् नै प्रमाणपत्र बुझे । उच्च अदालत जनकपुरका तत्कालीन न्यायाधीश पुष्पराज कोइराला र प्रभा बस्नेतको संयुक्त इजलासले ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नू’ भन्दै जिल्लाको आदेश उल्ट्याएको छ । २०७७ मंसिर १९ गते उक्त आदेश भएको देखिन्छ । उच्च अदालतको आदेशसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा आइपुगेको छ । 

अभियोगपत्रअनुसार कर्तव्य ज्यान मुद्दामा २८ जना र एम्बुलेन्स आगजनीमा २५ जना संलग्न छन् । हत्या संलग्नतामा महतोसँगै मुछिएका जलेश्वरका प्रदीप माझी, सञ्जय साह र पवन कापर भने जेलमा छन् । अभियुक्तमध्येका रमाशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय तारेखमा छन् । अदालतमा हाजिर नभएका महतोको नाममा पक्राउ पुर्जी जारी भएको छ । अदालतमा हाजिर नभएका कारण महतोको सम्पत्तिसमेत रोक्का रहेको महान्यायाधिवक्ता कार्यालयमा उपलब्ध मुद्दाको फाइलबाट देखिन्छ । 

मानवताले हारेको त्यो दर्दनाक घटना :

२०७२ भदौ २५ गतेको दिन, मधेशी मोर्चाका कार्यकर्ताले जुलुस र हुलहुज्जत गरिरहेका थिए । त्यतिबेला विक सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोष्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत थिए । आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिए । लाठी, लात्ती, मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाए । विकलाई उद्धार गरी प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पु¥यायो । जिल्ला अस्पताल जलेश्वरमा उपचार सम्भव नभएपछि उसैको एम्बुलेन्समा जनकपुर अञ्चल अस्पताल लैजाँदै थियो । महोत्तरी–८ सनोखडाको धान खेतमा आन्दोलनकारीले एम्बुलेन्सबाटै थुते । र, घाइते अवस्थामै फेरि लाठी र मुक्का बर्साए । त्यसपछि घटनास्थलमै विकको प्राणपखेरु उड्यो । 
 

टिप्पणीहरू