मांसमदिराका लागि उठ्तीपुठ्ती

अनि हुन्छ पत्रकारिता मर्यादित ?

मांसमदिराका लागि उठ्तीपुठ्ती

मागेर वा ठगेर खान पल्केको मान्छेलाई माया गरेर ‘गरी खा’ भन्दै कुनै सजिलै काम दियो भने पनि ऊ त्यो काम गर्न तयार हुँदैन भन्छन् । किनकि उसका लागि मागीखाने कामै सजिलो लाग्छ रे !आफूलाई पत्रकार बताउँदै हिँड्ने सहदेव गौतम नामका एक व्यक्ति छन्, उनको धन्दा नै मागीखाने हो । हुन त गौतम पत्रकारितासँग नजोडिएका होइनन् । तर, न समाचार लेख्छन्, न लेख नै ! उनीसँग राम्रै खालका एकाध पत्रकारको पनि उठबस छ तर खानपिउनका लागि मात्र, सहकार्यका लागि होइन ।

सूचना विभागको समेत परिचयपत्र बोकेर हिँड्ने गौतम मागी खाने धन्दामा लागेको वर्षाैं भयो । कहिले कुन पत्रिकाको परिचय दिन्छन्, कहिले कुन अनलाइनको । कलंकी–स्यूचाटारतिर पुख्र्याैैली घर भएका उनले माग्न नभ्याएको र दिनेले नदिएको व्यक्ति कमै होलान् । जहाँजहाँ आर्थिक अनियमितता हुन्छ, त्यो–त्यो कार्यालयमा पुगेकै हुन्छन् ।

दाह्री पालेका उनी चट्ट मिलाएर कोट पाइन्ट लगाउँदा राम्रै व्यक्तित्व झल्कन्छ । जानकारका अनुसार मीठा कुराबाट गफगाफ थाल्ने उनको शैलीले जोकोहीलाई पकेट वा पर्समा हात हाल्न बाध्य पारिहाल्छ । अरु पत्रकार दिनभर कहाँ समाचार पाइएला ? कस्तो समाचार, कसरी प्रमाण जुटाउने होला भन्ने ध्याउन्नमा पिरोलिइराख्दा सहदेवले भने फूर्तिफार्तीसाथ कोही–कसैलाई प्रभावमा पारिसकेका हुन्छन् । उनको डिमाण्ड सायद ठूलो हुन्न होला, भोलिको पनि कुरै हुन्न । दैनिक खर्च जुटाउने यो क्रियाकलाप वर्षाैंदेखि टिकिरहेको छ ।

जुन पत्रकारले चिन्छन्, खानपिउन अभ्यास भएकाले बाहेक कसैले राम्रो मान्दैनन् । अघिल्लो हप्ता त व्यक्तिगत नभएर सहदेवले ‘सुर्खेतमा पत्रकारको भेला रहेको र राष्ट्रपति सामेल हुने त्यहाँ आफूहरूको समूह नै जानुपर्ने भएकाले आफ्ना नाममा आईएमई गरेर रकम पठाइदिन’ भन्दै कैयौंलाई फोन र म्यासेज गर्न भ्याएका रहेछन् । यो उनको पछिल्लो र नौलो योजना हो । सायद, राजधानीमा दिनेहरूको सूची सकियो कि ?

प्रहरीका प्रायः युनिट, कर, आन्तरिक राजश्व, भन्सार, सडक, मालपोत, नापी, बनजस्ता कार्यालयका हाकिम सहदेवको बल्छीमा पर्ने गरेका छन् । अचम्म लाग्छ, संस्थाकै बद्नाम अनि पेशाकर्मीकै इज्जतमा दाग लगाउने धन्दा चलिरहेको धेरै पत्रकारलाई थाहा छ र पनि उनीहरूले सुनेको नसुन्यै, देखेको नदेख्यै गर्ने गरेको पाइन्छ । कोही–कोही आफूलाई सक्रिय पत्रकार भन्न रुचाउनेहरू त साँझपख उनै गौतमसँग मांसमदिरामा झुमिरहेको पनि देख्न पाइन्छ ।

गौतमलाई सूचना विभागको प्रेसपास उपलब्ध गराउन सिफारिस गरेबापत र कुनै हप्ते पत्रिकामा नाम छापिदिएबापत पत्रिकाका प्रकाशकलाई सम्झौता भएअनुसारको मासिक रकम र यदाकदा मांसमदिरामा पनि भुलाउनुपर्ने शर्त छ रे !

यसरी पेशाकै बदनाम गर्दै मगन्ते धन्दामा हिँड्ने सहदेव प्रतिनिधि पात्र मात्र हुन् । अन्य थुप्रै पत्रकार नामधारी छन्, मागेरै जीवन चलाउने । न उनीहरूलाई समाचारको ज्ञान छ, न समाचारै कोर्न–लेख्न आउँछ । नढाँटेरै भन्ने हो भने पत्रकारको छाता संगठन र दलीय ओत लागेका पत्रकारधारी संस्थामा पनि उनीहरूकै बाहुल्य रहेको आरोप छ । अनि हुन्छ, पत्रकारिता विश्वसनीय ? भाषण गरेर उपदेश दिँदैमा हुन्छ मर्यादित ? 

विगतमा पत्रकार भनेपछि कस्तो इज्जत र मानसम्मान थियो ! पत्रकारले आफूलाई पनि प्रतिष्ठितजस्तै ठान्थे । तर, विकृतिको जरा गड्दै जाँदा हिजोआज कुनै पनि वास्तविक पत्रकारले आफ्नो परिचय दिँदै दिन्न, दिनै चाहन्न । दिनै परे पनि अक्मक्याउँदै दिने गरेको यथार्थ हामीसामु छर्लंगै छ । यति हुँदा पनि पत्रकारितालाई मर्यादित तुल्याउनका लागि पत्रकारको गोडमेल हुन नसक्नु अचम्मैलाग्दो विषय पक्कै हो । सञ्चार माध्यममा योग्य पत्रकार र उनीहरूको वास्तविक योग्यताको खडेरी लागेको कति भो कति ? त्यही भएर त पछिल्लो समय कपी–पेष्टवाला पत्रकारको चहलपहल बढिरहेको छ ।

एक प्याराग्राफसमेत राम्रोसँग लेख्न नजान्नेहरू प्रधानसम्पादक, सम्पादक । रेष्टुरेन्टमा खाजा खाएको बिल डिस्काउन्ट गरेन भन्दै समाचार छापिदिने धम्की दिएर आफू फलानो पत्रिकाको चिफ रिपोर्टर हुँ भन्न अलिकति लज्जाबोध नगर्ने पत्रकार भनाउँदाको पनि कमी छैन । 

– भुक्तभोगी शिव खड्का
 

टिप्पणीहरू