ट्रेड युनियनको नेता, कसले हेर्ने त्यता ?
काममा दलिनु नपर्ने, हाजिरमात्र लगाए हुने ढुक्कको जागिर खाने हो भने कर्मचारीको नेता बने पुग्छ । ट्रेड युनियनको नाममा विकृति बढेपछि विकल्पमा जन्मिएका छन्, अर्का बालेन पशुपति पोख्रेल, जसले ५ हजार कर्मचारीको समर्थनमा स्वतन्त्र निजामती कर्मचारी संगठन गत हप्ता दर्ता गराएका छन् । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले १२ वर्षदेखि अर्थ मन्त्रालय छाडेर जानुपरेको छैन । अघिल्लो वर्ष अधिकृतमा बढुवा भई दोस्रो कार्यकाल अध्यक्षमा दोहोरिए ।
गोपालले उपाध्यक्ष उत्तम कटवाल, उपमहासचिव यज्ञ ओली र युवा सचिव भुपेन्द्र अधिकारीहरूलाई अगाडि सारेर भर्खरै झण्डै ४५ लाख रकम संकलन गरेको चर्चा छ । सिरुवारीमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा कोषाध्यक्ष प्रयास घिमिरेले युनियनका आडमा केही नेताले लाखौं रकम उठाएको तर खातामा एक रूपैंया कहीँ, कतैबाट नआएको बताएका छन् ।
स्रोतका अनुसार, गोपालले उत्तमलाई गृह र महालेखाका कर्मचारी सरुवा गर्ने जिम्मेवारी दिएका छन् भने यज्ञलाई सामान्य प्रशासन र बाग्मती प्रदेशको काम सुम्पिएका छन् । भूपेन्द्रले श्रम मन्त्रालयमातहत सरुवाको स्वामित्व लिएको बताइन्छ । नासु तहमा कार्यरत उपमहासचिव इन्दु शर्मालाई भैरहवा भन्सारबाट रसुवा पठाई उत्तममार्फत गोपालकहाँ कोशेली पु¥याइएको एकाथरीको आरोप छ । यज्ञ ओलीले बाग्मती प्रदेशका अध्यक्ष श्रीराम लम्साललाई माइनस गरेर सरुवा गर्दै आएका छन् भने भूपेन्द्रले निर्वाचन आचारसंहिता लाग्नुअघि एक दर्जन कर्मचारीलाई ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा लैजाँदा ३० लाखको खेलोफड्को गरेको चर्चा छ । यसअघि एयरपोर्टमा कार्यरत भूपेन्द्र अहिले वैदेशिक रोजगार कार्यालय, ताहाचल पुगेका छन् ।
उत्तम टेकुस्थित राष्ट्रिय खोप उत्पादन केन्द्रको स्टोर शाखामा कार्यरत छन् । खरदार हुँदा पनि त्यहीं थिए । बढुवा खानका लागि चार महिना पर्सा पुगे र नासुमा उक्लिएको भोलिपल्टै त्रिपुरेश्वरस्थित सोही कार्यालयमा हाजिर भए । अघिल्लो वर्ष त्यहाँको बेरुजुमात्र ६ करोड थियो । यज्ञ भने काभ्रेको शहरी कार्यालयबाट अहिले संघीय सहरीमा पुगेका छन् ।
यस्तो रोगले एमालेनिकट कर्मचारी संगठनलाई पनि गाँजेको छ । केदार देवकोटाको बर्हिगमनपछि लेखनाथ कोइराला निजामती कर्मचारी संगठनको अध्यक्ष छन् । लेखापाल (सुब्बा) रहुञ्जेल शान्ति कोष, सरुवा रोग अस्पताल टेकूमा बिताएका कोइरालाले बढुवा भएको एक वर्षमै निजामती अस्पतालतिर सरुवा मिलाएका छन् । हालैमात्र महालेखा नियन्त्रकको कार्यालयले ३७५ कर्मचारीलाई सरुवा गर्दा लेखनाथ निजामती अस्पतालमा पुगेका हुन् । निजामती अस्पतालमा लेखाअधिकृत नै लेखा प्रमुख हुने ब्यवस्था छ । सरुवा बढुवामा सके आफू, नसके पत्नीदेखि प्रेमिकासम्मलाई ‘मालदार’ ठाउँमा खटाउने रोगले हरि रावललाई पनि नछोइरहन सकेन ।
रावल, माओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हुन् । सरकारले उपभोग गर्न दिएको बबरमहलको सरकारी जग्गामा भवन ठडाई क्याफेलाई भाडा लगाएर मासिक ६० हजार उठाउँदै छन् । नासु पदमा सहकारी प्रशिक्षण केन्द्रमा कार्यरत र १० वर्षदेखि त्यहाँको क्वार्टर प्रयोग गर्दै आएका उनले हालैमात्र महालेखाले गरेको सरुवामा पत्नी प्रमिलालाई परराष्ट्र मन्त्रालयमा फिट गर्न सफल भएका छन् ।
१५ वर्षदेखि पर्यटन मन्त्रालय छाडेर बाहिर जानु परेको छैन,मोहन घिमिरेलाई । उनी एमालेबाट फुटेर जन्मिएको एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष हुन् । पर्यटन मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा हेर्ने उनी र मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरी (वन सेवा) ले पनि सिंहदरबार छाडेर अन्यत्र जानुपरेको छैन ।
टिप्पणीहरू