बागमती प्रदेश : सरललाई छिर्के, इन्द्रलाई किनारा

बागमती प्रदेश : सरललाई छिर्के, इन्द्रलाई किनारा

बागमती प्रदेश सरकार गठनपूर्व संसदीय दलको नेता छान्नका लागि प्रमुख राजनीतिक दलभित्रको रुवाबासी र चिच्याहट छताछुल्ल देखिएको छ । खासगरी प्रदेशकै ठूलो दल बनेको नेपाली कांग्रेस र तेस्रो दल बनेको माओवादी केन्द्रभित्र संसदीय दलको नेता बन्नका लागि देखिएको हानाथापले पार्टीभित्र तिक्तता बढाएको देखिन्छ । 

पुरानो गठबन्धनबाट मुख्यमन्त्री हुने योजनासहित अघि बढेका नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा पूर्वगृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँ यसपटक किनारा परेका छन् । बागमती प्रदेश सभामा यो दोस्रोपटकको प्रवेश हो । पुरानो गठबन्धनबाटै ६ महिना भएपनि मुख्यमन्त्री हुनेगरी तत्कालीन नेकपा एकीकृत समाजवादीसँग लिखित सम्झौता गरेका बानियाँलाई समाजवादीले अन्तिममा आएर साथ दिएको थिएन । त्यसपछि नयाँ निर्वाचनमा होमिएका बानियाँले घात अन्तर्घातका बाबजुद प्रदेश सांसदमा पुनः जीत त हासिल गरे, तर गठबन्धन फुटेसँगै मुख्यमन्त्री बन्ने सपना चकनाचुर मात्रै भएन संसदीय दलमा समेत हार खान पुगे । उनलाई संसदीय दलको नेतामा पछार्ने सांसद हुन् नुवाकोटका बहादुरसिंह लामा । लामा पनि नुवाकोटबाट दोस्रोपटक प्रदेश सांसद निर्वाचित भएका हुन् । 

स्रोतका अनुसार कांग्रेस सभापति देउवाको प्रिय पात्र मानिएका बानियाँलाई यसपटक देउवाले नै साथ दिएनन् । यसरी बानियाँलाई किनारातिर पु¥याउने पात्र अरु कोही नभएर जलस्रोत राज्यमन्त्री समेत भइसकेकी र पार्टीको आठौँ वरियतामा रहेकी सह महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) रहेको स्रोत बताउँछ । उहाँ यसपटक मकवानपुर क्षेत्र नं २ प्रतिनिधिसभामा चौथोपटक पराजित पात्र हुनुहुन्छ । माओवादी र एकीकृत समाजवादी मिलेर जाँदासमेत कांग्रेसका उम्मेदवार डिनाले पराजय भोग्नुपरेको आरोप लागेको छ बानियाँमाथि । डिनासँगै सोही क्षेत्रको प्रदेश सभामा हार खाएका आनन्दराम पराजुलीहरूले खुल्लमखुला बानियाँको असहयोगका कारण आफूहरूले हार खानुपरेको मिडियामा बताउन थालेका छन् । 

यता, अर्काे ठूलो पार्टी नेकपा माओवादी केन्द्रभित्रको रोइलो पनि सुनिसाध्य छैन । प्रचण्डले अलिक जोडबल गर्दा बागमती प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउन सक्ने सम्भावना बढेर जाँदा हालका आर्थिक तथा योजना मामिला मन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, उपसभामुख राधिका तामाङ, पूर्व सामाजिका विकास मन्त्री युवराज दुलाल संसदीय दलको नेता बन्न लालायित थिए । त्यसैमा थपिए भर्खरका युवा सांसद एवं बागमती प्रदेश अध्यक्ष सरल सहयात्री । 

तर, एकाएक जमकट्टेल नै संसदीय दलको नेता बने । पुरानो अनुभव र प्रचण्डका खास मानिएका जमकट्टेल र सहयात्रीबीच राम्रै प्रतिस्पर्धा चल्यो । त्यसो त प्रचण्डको सचिवालय धानेका दुलाल यसपटक पर्दाभित्रै रहेर जमकट्टेलको बिपक्षमा उभिएको बताइन्छ । अन्ततः कम्युनिष्ट पार्टीभित्र केन्द्रीयता लाद्दै माओवादी केन्द्रले संसदीय दलको नेतामा जमकट्टेललाई उभ्याएको छ । सहयात्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्, ‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो । छिर्के लगाएर गेम जितिन्छ तर मन जितिँदैन । जबसम्म मन जितिँदैन केही पनि जितिँदैन । म हरेकपटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउँदै कुदिरहेको धावक हुँ ।’ 

उता, दोस्रो ठूलो पार्टी एमालेमा यसअघि डोरमणि पौडेलका मुख्य राजनीतिक सल्लाहकार बनाइएका जेएन थपलिया निर्विरोध संसदीय दलको नेता बनेका छन् । बागमती प्रदेशसभामा कूल १ सय १० सांसद रहेकामा सरकार बनाउन ५६ सांसद भए पुग्छ । नयाँ बनेको गठबन्धनका एमाले (२७), माओवादी केन्द्र (२१) र राप्रपा (१३) जोड्दा मात्रै पनि ६१ सांसद छन् । बागमतीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस (३७), नेकपा एकीकृत समाजवादी (७), नेपाल मजदुर किसान पार्टी (३), हाम्रो नेपाली पार्टी (२) प्रतिपक्षमा रहने अवस्था छ । 

 

टिप्पणीहरू