सवासय मुद्दा, ३६ फैसला, १२ श्रीमान्

सवासय मुद्दा, ३६ फैसला, १२ श्रीमान्

सर्वाेच्च अदालतमा अस्ति सोमबार तीन सय ३५ थान पेशी चढाइएका मुद्दाको कारबाही किनारा गर्न जम्मा १२ जना न्यायाधीश खटिएका थिए । दिनभरि सुनुवाइ गरेर उनीहरूले जम्मा ३६ वटा मुद्दाको फैसला गरे । पेशीमा चढेका मुद्दामध्ये १४ वटा हेर्दाहेर्दै, १४ वटामा प्रक्रियागत आदेश र अर्काे ९ वटा स्थगित थिए भने १७८ वटा हेर्न नभ्याइनेमा दरिए । 

न्यायाधीशहरूले पूर्व आदेश गरेको वा कुनै नाताको मुद्दा परेको जस्ता विविध कारणले हेर्न नभ्याइने मुद्दाको संख्या भने ७६ थियो । सोमबारका लागि साप्ताहिक सूची र दैनिक पूरक सूचीमा गरेर कूल चार सय ३४ थान तोकिएकोमा बिहानै ९९ वटा मुद्दा स्थगितमा पारिएका थिए । सोमबार मात्र होइन, हरेक दिनचर्या सर्वाेच्च अदालतमा यही ढंगले बितिरहेको छ । दैनिक साढे चार सय हाराहारी मुद्दा इजलासमा चढ्ने र दुई या तीन दर्जनले फैसलाको मुख देख्न पाउने । सर्वाेच्च अदालतमा यतिसम्मको चाप छ कि अभियानकै रूपमा मुद्दा फैसला गर्नुपर्दा पनि दश वर्षअघिका मुद्दाले समेत पालो पाइरहेका छैनन् । 

कतिपयको औचित्य सकिएको, कतिपय मुद्दामा उठाइएका विषय समाप्त भएको, कैदीबन्दीको कैद भुक्तान भइसकेको र मुद्दा परेका कर्मचारीले अवकाश पाइसक्दासमेत मुद्दाको पालो नआउने अवस्थाप्रति अनौठो मान्न छाडिएको छ । पछिल्लो पटक निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले अवकाश पाउ“दा न्यायाधीशको संख्या १६ मा झरेको छ । राणाभन्दा अघि नै बमकुमार श्रेष्ठले कात्तिक १५ मा अवकाश पाएका थिए । प्रधानन्यायाधीश र अन्य चार जना न्यायाधीशको पद खाली छ भने न्यायपरिषद्ले सिफारिस गरेका तीन जनाले संसदीय सुनुवाइ हुन नसक्दा नियुक्ति हुन सकिरहेको छैन । चार महिनाअघि भदौ २४ गतेको सिफारिस कायमै छ कि तुहिसक्यो भन्नेमा पनि विवाद चलिरहेकै छ । सर्वाेच्च अदालतमा मुद्दाको संख्या बढेको बढ्यै गर्दा न्यायाधीशको संख्या भने घटेको घट्यै छ । मुद्दाको संख्या बढ्ने तर न्यायाधीशको संख्या कम हुँदा सुनुवाइ भने गम्भीर रूपमा प्रभावित भएको छ । 

बहालवाला १६ जनामा पनि कोही बिरामी पर्ने, कसैलाई अपर्झट व्यक्तिगत काम पर्ने, कतिपयको इजलासभन्दा पनि बाहिरै बैठकमा सहभागी हुनुपर्ने लगायतका कारणले मुद्दाको सुनुवाइ दोस्रो प्राथमिकतामा पर्न थालेको छ ।  जाडो याममा साढे एघार बजे इजलास बस्ने र दिवा खाजाको लागि १ बजे ब्रेक लिँदा जम्मा डेढ घण्टा सुनुवाइ हुने गरेको छ भने चियापछिको एकघण्टा हम्मेहम्मे तवरले सुनुवाइ भइरहेको छ । यसरी दैनिक धेरै समय दिँदा जम्मा अढाई घण्टा सुनुवाइ हुने गरेकामा कतिपय इजलासभन्दा दुईदेखि तीनवटा मुद्दाको फैसला गरिरहेका छन् । दशैंको लामो बिदा, साउनमा वर्षान्तको व्यवस्थापनलगायतका कारण मुद्दाका कारबाही किनारा हुन सकिरहेको छैन ।

कोरोना कहर, प्रधानन्यायाधीशविरुद्धको आन्दोलन, राजनीतिक प्रकृतिका मुद्दाको सुनुवाइ, महाभियोग दर्ता र फेरि पनि राजनीति र न्यायालयमा देखापरेको अन्योलका कारण न्यायालय विवादको अन्त्य हुनेभन्दा पनि बिज रोपण गर्ने थलो बनिरहेको छ । सर्वाेच्च अदालतमा मुद्दा थुप्रिएर ४० हजार हाराहारीमा पुगिसक्दा र जनतालाई एकपछि अर्काे आहत थपिँदा पनि प्रणालीमा परिवर्तन र परिष्करण हुन नसक्दा न्यायालयबाट न्याय पाइन्छ भन्ने आशा क्षय भइरहेको छ । सर्वाेच्च अदालततिरको बेथिति समाप्त गर्न सरोकारवाला सबैको आ“खा कहिले पुग्ला ?

टिप्पणीहरू