भित्रियाहरू यसो पो भन्दै छन्
कसैका आकांक्षा कस्ता थिए, कसैका आँखा कहाँ थिए भन्ने कुराको अलिकति खुलासा कांग्रेस सभापति शेरबहादुर देउवाका ‘भित्रिया’ भनी चिनिने ज्ञानेन्द्रबहादुर कार्कीबाट भएको छ । ‘रवि लामिछानेले धेरै केही मागेको थिएन, जम्माजम्मी उद्योग, शिक्षा र स्वास्थ्य मन्त्रालय दिनुस्, आँखा चिम्लिएर आउँछाैँ भन्थे’ केही शुभचिन्तकसँग उनले भने, ‘त्यसो भन्नेलाई उपप्रधानमन्त्री र गृह दिए ।’ सिनेमाको अभिनेता र सेनामा हतियारको ठेकेदारसमेत रहेका भाइ लोकेन्द्रसहितका केही नातेदारसँगको सन्ध्याकालीन भेटमा अघिल्लो शुक्रबार निवर्तमान सञ्चारमन्त्रीसमेत रहेका उनैले सुनाए, ‘हामी त्यति पनि नदिऊँ होला भन्दै थियौँ, फ्याट्ट उताबाट उपप्रधानमन्त्री पो खाइदियो !’
उनका अनुसार, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले घुमाईफिराई राष्ट्रपतिको आकांक्षा व्यक्त गरिरहनुभएको थियो । त्यसमा रामचन्द्र पौडेलको व्यापक चाहना प्रकट भएपछि आलोपालोमा पहिलो एक वर्षको सरकार आफूलाई चलाउन दिए पनि हुन्छ भन्ने मनशाय माधवबाट व्यक्त भएको उनले तिनै नातेदारहरूलाई सुनाए । ‘अन्तिम वर्षको प्रधानमन्त्री के–हो के–हो’ भन्दै कि पहिलो कार्यकालको प्रधानमन्त्री कि राष्ट्रपतिको आशय उहाँको रहेको ज्ञानेन्द्रले बताए । ‘बरु, राष्ट्रपतिमै आलोपालोमा जाऔँ, पहिला रामचन्द्र, पछि माधव’ भन्दा पनि उहाँले पहिलो नै दावी गर्नुभएको उनको भनाइ छ ।
ज्ञानेन्द्रले शेरबहादुरबाट अन्तिमसम्म पनि प्रधानमन्त्रीको दावी नछोडेकोलाई मनासिव भनेका छन् । ‘जनमतको कदर गर्ने हो भने हामी ८९ सीटले ३२ सीटलाई प्रधानमन्त्री बनाउन जायज हुने थिएन’, उनले भने, ‘शेरबहादुरले जे गर्नुभयो एकदम ठीक गर्नुभयो, म त हिजो, आज र भोलि पनि यही कुरामा अडिग छु ।’
कांग्रेसले खाइपाइ आएको सारा पद गुम्नुमा यिनै ज्ञानेन्द्र, विमलेन्द्र, आरजू र प्रकाशशरण महतको ठूलो हात रहेको बताइन्छ ।
टिप्पणीहरू