‘नाथ’ भएपछि अरु जम्मै नाथे
एउटा ‘नाथ’ बोकेपछि अरु सबै ‘नाथे’, यही निहुँमा एमालेभित्र चरम असन्तुष्टि छ । ‘होलीवाइन’ लगायतका संदिग्ध क्रियाकलापको कारण विवाद र चर्चामा रहिरहने परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेको कोटाबाट २ चोटि मन्त्री त कहिले सांसद बनाउनका लागि निरन्तर बोकिँदा पार्टी र संगठन भनेरै जीवन बिताएका भानुभक्त ढकालहरू अपमानित छन् ।
एकनाथलाई एमाले अध्यक्ष केपी ओलीले कहिले मन्त्री बनाएर पुरस्कृत गर्नुभयो, कहिले समानुपातिकबाट सांसद बनाउनका लागि अरु थुप्रै योग्य, इमान्दार र इतिहास भएका नेतालाई पछाडि राखेर अगाडि ल्याउनुभयो । एकनाथले विदेशबाट ल्याएको चन्दा च्यापेर क्रिश्चियानिटीलाई बढावा दिनु नै थियो भने पुराना नेता भानुभक्त ढकाललाई खरानी घसेर हिन्दूत्व जागरणका नाममा ठोरीमा राम मन्दिर भन्दै किन उफ्रिन पठाउनुपरेको ? भन्नेहरू एमालेमा थुप्रै छन् ।
अहिले एमालेमा विष्णु पौडेलको हातमा सरकारको नेतृत्व भएपछि पार्टीको सम्पूर्ण शक्ति अध्यक्ष ओलीमा केन्द्रित भएको छ । अर्थात्, सामूहिकताको अभ्यास समाप्त पारिएको भनी अर्काथरि नेता असन्तुष्ट छन् । मन्त्री भएर पनि विष्णु पौडेल पुल्चोकस्थित सरकारी क्वार्टरमा नजाने, घरमै बस्ने गरिरहनुभएको छ । किनभने, सरकारी क्वार्टरमा शक्तिको अभ्यास गरिँदा कुरा बाहिरिन्छ, आफ्नै घरमा बसे कसैले पत्तो पाउँदैन ।
प्रचण्ड नेतृत्वको सरकार बनाउँदैमा अर्थ, गृहसहितका मन्त्रालय छोड्नु हुँदैन भन्ने आवाज पार्टीभित्र चर्को थियो । तर, अर्का विवादास्पद व्यक्ति रवि लामिछानेलाई गृहमन्त्री दिइएको छ । यसमा अमेरिकाको प्रष्ट चासो छ, तिब्बतीलाई सहजता र परिचयपत्र नविकरण । विगतका गृहमन्त्रीहरूले अस्वीकार गर्दै आएको यो माग अमेरिकी राहदानीवाहक रविले कसरी अस्वीकार गर्लान् ? हेर्न बाँकी नै छ । उनैको नागरिकताबारे सर्वोच्च अदालतमा चलिरहेको मुद्दामा विश्वासको मत लिनुअघि फैसला गर्नबाट रोकिएको यस्तै होइन ।
अर्कातिर, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सुवास नेम्वाङलाई राष्ट्रपति बनाउनुपर्छ भन्नेमा हुनुहुन्न, तर आफूलाई बनाउनुपर्छ पनि भन्नुभएको छैन । कम्युनिष्ट आन्दोलनको भविष्य हेर्नुपर्छ भन्दै च्यासलस्थित केन्द्रीय कार्यालयमा घाम ताप्नेहरूलाई भन्नुभएको छ, ‘मुठ्ठीभरका मान्छेहरू बोकेर आन्दोलनको विकास हुँदैन ।’
टिप्पणीहरू