गाई मार्नेका सजायँमा गलफत्ती

गाई मार्नेका सजायँमा गलफत्ती

एकजनाले भने, ‘दिनैपर्छ, यो त हाम्रो पुरानै अडान हो, यो नभए हामीलाई गाह्रो हुन्छ !’, अनि, अर्काले थपे, ‘हाम्रो पनि पुरानै अडान हो, त्यो दिन हुँदैन !’ यसरी ‘दिने’ र ‘नदिने’ मा अडान लिँदै गलफत्ति चल्यो, सरकारको न्युनतम साझा कार्यक्रम तयार पार्दा विष्णु पौडेल, वर्षमान पुन, मुकुल ढकालसहित भएको ठाउँ अर्थ मन्त्रालयमा । अन्ततः संसदको संख्यात्मक संवेदनशीलतालाई मध्यनजर गर्दै ‘नदिने’ पक्षका प्रधानमन्त्री प्रचण्ड आफैँले ‘दिने’ निर्णय गराउनुभएको छ ।

सरकारले पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा छुट्टी दिने कि नदिने भनेर राप्रपा र जसपाका नेताबीच यसरी गलफत्ति चलेको हो । साझा कार्यक्रम तय गर्न गठित कार्यदलमा राप्रपाबाट धवलसमशेर राणा र जसपाबाट रकम चेम्जोङ सदस्य थिए । धवलले पृथ्वी जयन्तीमा बिदा दिइनुपर्छ भन्ने आफूहरूको पुरानो अडान भन्दाभन्दै रकमले कड्किएर प्रतिवाद गरे, ‘हुँदैहुँदैन, हाम्रो पनि पुरानै अडान हो !’ उनको भनाइ थियो, ‘कतिपय बिदा त वार्षिक क्यालेण्डरमै लेखिएको हुन्छ, धेरैवटा बिदाचाहिँ मन्त्रिपरिषद्ले निर्णय गरेर दिन्छ । सरकारले दियो भने फरक पर्दैन । पृथ्वी जयन्ती नै मनाउनुपर्ने आवश्यकता छैन, व्यक्तिहरूको जन्म जयन्तीलाई यति ठूलो विषय नबनाऔँ ! भोलि त्रिभुवनको, महेन्द्रको, वीरेन्द्रको, बीपीको हकमा पनि यस्तै कुरा आउला ।’ यसरी दुई नेताको अडान भएका कारण शीर्ष नेताबाट टुंगोमा पु¥याउने कुरा भयो र सरकारले छुट्टी दिने निर्णय सोमबारकै मन्त्रिपरिषद् बैठकबाट गरिसक्यो । 

फेरि धवलसमशेरले कुरा उठाए, गाईलाई संरक्षण गर्नेबारे । रकमले भने, ‘हैन, संरक्षित नै छ त ।’ धवल गौहत्यामा दुई सयमात्रै दण्ड जरिवानाको प्रावधान राखिरहँदा राष्ट्रिय जनावरको संरक्षणमा समस्या हुन्छ भन्दै थिए, ‘यस्ता कुरा नगरौँ’ भन्दै रकमले कुरा अन्यत्र मोडे । साझा कार्याक्रममा के–के राख्ने भन्नेबारेमा एमालेले लेखेर लगेको थियो । माओवादीको खासै केही ठूलो प्रस्ताव थिएन । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो भन्ने राजेन्द्र लिङदेनको पार्टीलाई अरुले ३० वर्ष के गरी बितायौ भनेर जवाफ लगाए भने सुशासन र भ्रष्टाचारविरुद्धको कुरा गर्ने रास्वपाहरूको जोड हाम्रो घोषणापत्रमा यो कुरा प्रमुखताका साथ उठाइएको हुँदा यसलाई हाइलाइट गरेरै जानुपर्छ भन्नेमै रह्यो । सोहीअनुसार न्यूनतम साझा कार्यक्रम तय भयो । अख्तियारलाई बलियो बनाउने प्रतिबद्धताका बुँदासमेत थपियो । 
 

टिप्पणीहरू