दिउँसो एससँग एकता वार्ता, साँझ शीतल निवासको निम्तो
दिउँसो माधव नेपालको पार्टीसँग भेटेर एक घण्टा एकता वार्ता भयो भन्ने थाहा पाएपछि उपेन्द्र यादवलाई शीतल निवासबाट फोन आयो र शनिवार बेलुकी ६ बजे बोलाइयो । सीधै त भनिएन, तर घुमाउरो पारामा जसपाको नाडी छाम्ने काम राष्ट्रपतिबाट भएको छ ।
एक समयका कम्युनिष्टहरू अर्को समयमा त्यो नाम वा ट्याग भिर्नुपर्ला भनेर भाग्दै हिँड्ने स्थिति पनि आउँदो रहेछ । अहिले एकीकृत समाजवादी र जसपाबीचको संवादमा त्यही देखिन्छ । पञ्चायतकालमा तुलसीलाल समूहको विद्यार्थी संगठन, मनमोहननिकट नेप्रवियुको नेता हुँदै २०४८ सालमा नेकपा (माक्र्सवादी) र माले एकतापछि एमाले बनेका उपेन्द्र यादवलाई अहिले कम्युनिष्ट भनिनुपर्ने अवस्था आएपछि अप्ठेरो लागेको छ । जबकि, उनी २०४८ सालमै एमालेबाट सुनसरी– ४ मा चुनाव उठेका थिए, कांग्रेसका शेख इद्रिससँग हारे । ०५१ को मध्यावधि निर्वाचनमा त्यही क्षेत्रबाट गिरिजाप्रसाद कोइरालाको प्रतिस्पर्धी हुन चाहेका थिए, तर एमालेले टिकट दिएन । चुनाव जितेको एक वर्षपछि गिरिजाले सुनसरी छोडेर मोरङको संसद सदस्य कायम राखे ।
सुनसरीमा उपचुनाव हुँदा फेरि उपेन्द्र टिकटका लागि दौडिरहेका थिए, तर जगदिश कुसियैतले टिकट पाएर जिते । यसपछि उपेन्द्र क्रमशः माओवादीसँग नजिकिए । शान्तिप्रक्रियामा आउनुभन्दा दुई वर्षअघि दिल्लीमा माओवादी नेतासँगै पक्राउ परेका थिए । उनी उतैबाट छुटे, तर मात्रिका यादवसहितका अरु नेतालाई भारतीय प्रहरीले नेपालसमक्ष सुपुर्दगी ग¥यो । त्यसपछि मधेसी जनअधिकार फोरम नाम राखेर सामाजिक संस्था खोले, ०६३ सालमा त्यसैलाई राजनीतिक दलका रुपमा दर्ता गरेपछि औपचारिक रुपमा कम्युनिष्ट रहेनन्, मधेसवादीका रुपमा चिनिए ।
अहिले एकीकृत समाजवादीसँग एकता वार्ता चलिरहँदा उनलाई सबैभन्दा ठूलो आपत्तिको विषय नै पार्टीको नाम ‘कम्युनिष्ट’ राख्नेमा छ । उपेन्द्रबाहेक अरुले त्यसमा खासै आपत्ति जनाएका छैनन् । गत शनिवार आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमै माधवकुमार नेपालसँगको भेटमा उनले पटक–पटक भने, ‘नाममा कम्युनिष्ट नराखौँ, अरु कुरा त मिलिहाल्छ †’ माधवले भन्नुभयो, ‘यसमा त्यस्तो आपत्ति जनाउनुपर्ने कुरा के छ र ? तपाईं पुरानै कम्युनिष्ट हुनुहुन्छ, सँगै एमाले पनि भयौँ । अशोक राई, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, रञ्जु ठाकुर– उहाँहरू सबै हामीसँगै यात्रा गरेका कम्युनिष्ट आन्दोलनका कार्यकर्ता न हौँ ।’ उपेन्द्रले फेरि भने, ‘हैन, हैन, त्यस्तो हुँदैन । कोही कांग्रेसबाट आएका साथीहरू छन्, कोही सद्भावना पार्टीको लिगेसीबाट आएका छन् । सबैलाई मिलाएर लानुपर्छ, नाममा कम्युनिष्ट नराखौँ ।’
छलफलका क्रममा वैचारिक कुरा मिलाउनुपर्छ भन्नेमा उहाँहरूबीच सहमति भएको छ । एकीकृत समाजवादीमा दुई–दुईजना पूर्वप्रधानमन्त्री र धेरै सिनियर नेता भएका कारण नेताहरूको व्यवस्थापन पनि केही जटिल भएको छ । उपेन्द्रले पहिलो नेता माधव, दोस्रोमा झलनाथलाई स्वीकार गरेका छन् ।
उता, डा.बाबुराम भट्टराई चुनावदेखि नै माओवादीतिर लाग्नुभएको हो । नामले मात्रै उहाँको अलग मोर्चा थियो । महिन्द्रराय यादव माओवादीकै चुनाव चिह्नबाट जितेका हुन् ।
टिप्पणीहरू