मध्यरातमा सडक दुर्घटना, मोटरसाइकल चालकको अवस्था गम्भीर

मध्यरातमा सडक दुर्घटना, मोटरसाइकल चालकको अवस्था गम्भीर

गएराति काठमाडौंको चमतिमा भएको सडक दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । राति १२ बजेको समयमा स्यवम्भू नजिकैको चमतिको नयाँ पुलमा पानी ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ । 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ठूलो सिमवारी घर भई हाल चमती बस्ने ५१ वर्षे चन्द्रबहादुर थापाले चलाएको ट्याङ्करले दोलखा भीरकोट गाउँपालिका १ घर भई क्षेत्रपाटी नजिकैको ढल्कुमा बस्ने ३४ वर्षे रत्नबहादुर नेपालीको मोटरसाइकललाई ठक्कर दिएको थियो । ना. २ ख ८२६१ नम्बरको पानी ट्यान्कर र बा. ७७ प २८१७ नम्बरको मोटरसाइकल ठोक्किँदा नेपाली गम्भीर घाइते भएका हुन् । 

उनको मनमोहन अस्पताल स्वयभुमा उपचार भइरहेको जनाइएको छ । घाइतेको टाउको, पेट, गोडा र शरीरका विभिन्न भागमा चोट लागेको अस्पतालले बताएको छ । उनी बोल्नसक्ने अवस्थामा नरहेको र दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
 

टिप्पणीहरू