कर्णेलहरू क्रमशः काण्डमा
पुस १९ देखि सैनिक हिरासतमा राखिएका पूर्व दुईतारे जर्नेल प्रेम शाहीलाई जंगी अड्डाभित्रैको सिद्धार्थ कटेजबाट भगाउन खोजिएको आशंका गरिएको छ । ०७२ सालको भूकम्पपछि आफूसहित अनन्त कार्कीहरू मिलेर सिद्धार्थ कटेज ग्रुपलाई सुन्धाराको सिटिसी मलछेउ सैनिक मुख्यालयसँगैको ठाउँ रेष्टुरेण्ट चलाउन उपलब्ध गराइएको थियो ।
अहिले सैनिक हिरासतबाट भाग्नका लागि उनले त्यहीँ आँखा लगाएको र फोन चलाउन या यस्तै गतिविधिमा छुट दिएको भन्दै सैनिक प्रहरीका लेफ्टिनेन्ट कर्णेल मोहन थापालाई जिम्मेवारीबाट हटाइएको छ । यसबीच, शाहीमाथिको कोर्ट अफ इन्क्वायरी पनि अन्तिम चरणमा पुगेको बुझिएको छ । उमेर विवादका बीच सैनिक मुख्यालयले अवकाशको पत्र थमाएपछि फेरि सर्वोच्च अदालतबाट बहाली गराउनु भन्ने आदेश गराएका शाही काम सम्हाल्न मुख्यालय पुग्दा हिरासतमा पठाइएका हुन् ।
हिजोआज उनलाई राति निद्रा छुट्ने र सुत्न गाह्रो हुने समस्या परेको बताइन्छ । उनको घरबाट भ्रष्टाचारको आरोप लगाउन पुग्ने गरी कागजात बरामद भएको छ । उता, वीरेन्द्र सैनिक अस्पताल छाउनीका समादेशक जर्नेल अरुण न्यौपानेको शैक्षिक प्रमाणपत्रसम्बन्धी कागजात पनि शाहीकै घरबाट फेला परेको छ । प्रेमले चाहिँ ‘नहुनु गल्ती भइहाल्यो’ भन्दै जहाँ पनि सही गर्न तयार छु भनी छुटाइदिनका लागि प्रधानसेनापति प्रभुराम शर्मालाई खबर पठाएका छन् ।
त्यस्तै, संखुवासभाको छुम्सुरदेखि शंखेभीर हुँदै च्यामताङ जोड्ने ११.५ किलोमीटर बाटोको ट्रयाक खन्दाका दोषी लेफ्टिनेन्ट कर्णेल अहिले फन्दामा परेका छन् । पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा त्यहाँँ काजमा खटाइएका इन्फेन्ट्रीतर्फका लेफ्टिनेन्ट कर्णेल हरिबहादुर बोहोराले ठेकेदारहरूलाई भुक्तानी नदिएको र बजेट अपचलन गरेको भनी कोर्ट अफ इन्क्वायरी शुरु भएको हो ।
कर्णेल हरिबहादुर बोहरा प्रकरणमा जनआस्थाले नेपाली सेनाका प्रवक्ता सहायक रथि कृष्णप्रसाद भण्डारीसँग जिज्ञासा राख्दा बोहराले खटाएको ठाउँमा जिम्मेवारी पूरा गर्ने क्रममा केही अनियमितता गरेको भेटिएको, छाननिबन प्रक्रिया पछि अनुसन्धानको काम सकिएर अदालत गठनसम्म भएको जनाएका छन् । अर्कातिर, सेनाकै यान्त्रिक परिवहन गणको गणपति प्रवीण खड्कासँग सेनामा दोस्रो हैसियतका जर्नेल सरोजप्रताप राणाले महिनावारी उठाएर खाने गरेको चुक्ली प्रभुराम शर्माकहाँ पुगेको बताइन्छ ।
टिप्पणीहरू