माओवादी के–केमा अरुसँग मिल्दै ?

माओवादी के–केमा अरुसँग मिल्दै ?

‘नयाँ’ हैन, पुरानैलाई निरन्तरता दिने प्रारम्भिक सहमति कायम गर्दै माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू वार्ताबाट उठेका छन् । तर, आजभोलिमै एकता भइहाल्ने छेकछन्द छैन । उता वाम एकता र अबको बाटोबारे निक्र्योल गर्न कपिलवस्तुमा विप्लवको बैठक चलिरहेको छ । 

२०७५ सालको एमाले–माओवादी एकतालाई नै निरन्तरता दिने गरी पुनः एकता कायम गर्नेबारे दुई पार्टीका कार्यदलबीच कुराकानी भएको छ । त्यसमा एमालेलाई सामेल गर्ने÷नगर्नेबारे प्रसंग छेडिएको छैन । त्यसबेलाको एकतालाई अदालतको आदेशका कारण भंग गरिएको भए पनि केपी ओलीले पेल्न नखोजेको भए अदालतले टुटाए पनि एकता कायम गर्न सकिन्थ्यो । त्यसैले एकीकृत समाजवादीका नेताहरू एमालेले उक्त एकता भंग गर्न वा गराउन खेलेको भूमिका, संसद विघटन, पार्टी पदाधिकारी खारेजीका निर्णयहरूमा आत्मालोचना नगरी ऊसँग कुनै कुरा अगाडि नबढ्ने अडानमा छन् । 

राजनीतिक–वैचारिक विषयमा पहिला जुन आधारमा नेकपा बनाइएको थियो, त्यही आधारमा गर्न सकिन्छ भन्नेमा दुबै पार्टीका नेता सहमत छन् । नेकपाको विभाजनपछि एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले माओवाद बोके । एकीकृत समाजवादी भने एकताकालको साझा धारणामा चलिरहेको दावी उक्त पार्टीका वार्ताकारले गरेका छन् । पहिलो एकता वार्तामा दुबै थरि नेताबीच विगतका कामको समीक्षा गरौँ भन्ने सहमतिसँगै पार्टी एकता तुरुन्त गर्न नसकिने हो भने सहकार्य गरेर जान सकिन्छ भन्ने सल्लाह भएको छ ।

जसपासँगको एकता दीर्घकालीन विषय भएकोले तत्कालै निर्णय लिन सकिँदैन भन्ने एकीकृत समाजवादीका नेताहरूले बताएका छन् । अहिले मुख्यतः ‘कम्युनिष्ट पार्टी’ भन्ने कि नभन्नेमा कुरा अड्किएको छ । तर, माओवादीसँग नेकपाकालीन अवधारणामा जाँदा एकता गर्न गाह्रो हुँदैन । 

कार्यदलको छलफलबाहेक माधव नेपालसँगको भेटमा प्रचण्डले मिलेर जाऔँ भन्नुभएको छ । प्रचण्डले के–कसरी मिल्ने भनेर प्रष्ट रोडम्याप ल्याउनुभएको छैन । त्यसैले माधवले ‘मिल्ने वातावरण बनाउनुस्’ भन्नुभएको छ । उता, भीम रावलचाहिँ एससँगको छलफलमा अझै पनि एमसिसीको मुद्दामा जोड दिनुका साथै राष्ट्रियताको मुद्दा आफू एक्लैले उठाएको दाबीसहित सोको कदर हुनुपर्ने अडान राखिराख्नुभएको छ । 
 

टिप्पणीहरू