भुम्लु गाउँपालिकाका अध्यक्षमाथि गुम्बाको पैसा क्वाप्पै पारेको आरोप

भुम्लु गाउँपालिकाका अध्यक्षमाथि गुम्बाको पैसा क्वाप्पै पारेको आरोप

काभ्रेको भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम भुजेलमाथि गुम्बा निर्माणमा आर्थिक अनियमितता गरेको आरोप लागेको छ । भुम्लु-५ मुलाबारीमा अवस्थित श्री घोङग ताम्सालिङ गुम्बा निर्माणमा अध्यक्ष भुजेलका सल्लाहकार तुलसीमान तामाङले गुम्बा निर्माण समितिका कोषाध्यक्ष र सचिवको कृते हस्ताक्षर गरी रकम निकालेर हिनामिना गरेको स्थानीयले आरोप लगाएका हुन् ।

पालिका अध्यक्षसहितको मिलेमत्तोमा गुम्बा निर्माण समिति विघटन गरी रातारात नयाँ समिति बनाई पाँच लाख रुपैयाँ झिकेको स्थानीयले दावी गरेका छन् । डुक्मा दोर्जे लामाको अध्यक्षतामा गठित पुरानो समितिको कोषाध्यक्ष अनिता गुरुङ र अमृत कुमार लामा सचिव छन् । मठराम तामाङ, शर्मिला तामाङ र मनमाया तामाङ समितिका सदस्य छन् । तर, उनीहरु कसैलाई पनि थाहै नदिई अध्यक्ष भुजेलका सल्लाहकार तुलसीमानलाई नयाँ समितिको कोषाध्यक्ष बनाएर रकम निकालिएको स्थानीयको भनाई छ ।  

गाउँपालिकाका अध्यक्ष भुजेलको एकल सिफारिसमा निर्माण समितिका सबै सदस्यको किर्ते हस्ताक्षर गरी अर्को समिति गठन गरेर ५ लाख निकालिएको एक स्थानीयले आरोप लगाए । समितिका कोषाध्यक्ष अनिता गुरुङले आफूलाई थाहा नदिई कृते हस्ताक्षर गराएकोमा आक्रोश व्यक्त गरेकी छिन् । 

'हामीलाई केही भन्दै नभनी हाम्रो कृते हस्ताक्षर गरेर  पैसा झिकिसके छ्न् । पालिका अध्यक्षले कुन आधारमा सिफारिस गर्दिए अनि कोषध्यक्ष सचिव बिना बैंकले कसरी पैसा दियो, अचम्म लागेको छ', उनले भनिन् । 'म झूठ बोल्दिन, पहिलो नम्बरमा समितिको अध्यक्ष दोर्जेको गल्ती छ । दोस्रोमा पालिका अध्यक्षका सल्लाहकार तुलसिमानको गल्ती छ र अध्यक्ष भुजेल पनि यसमा दोषी छन्', आक्रोशित हुँदै उनले भनिन् । 

'कृते हस्ताक्षरमा किन सिफारिस दिइयो ? सचिव र कोषाध्यक्ष बिना बैंकले पैसा कसरी दियो ? र अहिलेसम्म सम्बन्धित निकाय किन मौन बसेको ?', उनले प्रश्न छ । उता पालिका अध्यक्ष सल्लाहकार तुलसिमान भने यसबारे बोल्न चाहेनन् । अध्यक्षसँग मिटिङ नगरेसम्म केही बोल्न नसक्ने बताएर उनी त्यसै पन्छिए । अध्यक्ष भुजेलसँग बुझ्न खोज्दा सम्पर्क हुन् सकेन ।

टिप्पणीहरू