प्रेम दिवसको बिदा खै ?

प्रेम दिवसको बिदा खै ?

सरकारले जनयुद्ध दिवसको बिदा दियो तर प्रेम दिवसको बिदा भने दिएन । जनयुद्ध दिवसको ठीक भोलिपल्टै प्रेम दिवस थियो । अर्थात् भ्यालेन्टाइन्स डे । तर, सरकारले भ्यालेन्टाइन्स डेको उपलक्ष्यमा कुनै बिदा दिएन । आधा दिनको समेत बिदा दिएन । नाम भ्यालेन्टाइन्स डे भए पनि मूलतः त्यो त प्रेम दिवस हो । तर, सरकारले प्रेम दिवसमा बिदा दिएन ।

मानिसहरूले बिना बिदा नै प्रेम दिवस मनाउनुपर्‍यो । बिदा दिनु कुनै गाह्रो काम त थिएन । निर्णय ग¥यो, सकियो । पृथ्वी दिवसमा बिदा, जनयुद्ध दिवसमा बिदा । यति बिदा दिएपछि अब प्रेम दिवसमा पनि कसो बिदा नदेला भन्ने मनमा लागेको थियो । तर अहँ... दिएन । 

वास्तवमा सरकार कति हिंसात्मक रहेछ भन्ने कुरा यसले पनि देखाउँछ । युद्धको दिवसमा बिदा दियो, प्रेमको दिवसमा बिदा दिएन । युद्ध गर्नलाई बिदा छ, प्रेम गर्नलाई बिदा छैन । अनि देशमा हत्या, हिंसा, घृणा, मारकाट, हानाहान नभए के हुन्छ त ? प्रेम गर्नलाई बिदा दिए पो प्रेम, त्याग, समर्पण, माया, ममता, भाइचाराजस्ता क्रियाकलाप हुन्थ्यो ।

युद्ध मनाउन बिदा दियो, यातायात व्यवसायीले बालाजुमा युद्ध मनाइहाल्यो । कति तोडफोड, आगजनी भयो देख्नुभयो होला नि ! युद्ध गर्न बिदा दिएपछि त्यसको नतिजा योभन्दा बेसी अरु के होला ?

जुन देशमा युद्ध गर्नलाई बिदा छ तर प्रेम गर्नलाई बिदा छैन, त्यो देशमा कसरी शान्ति आओस् हँ ?
 

टिप्पणीहरू