काभ्रेका जनप्रतिनिधिमाथि सहकारीको रकम झ्वाम पारेको आरोप

काभ्रेका जनप्रतिनिधिमाथि सहकारीको रकम झ्वाम पारेको आरोप

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका एक जनप्रतिनिधिमाथि सहकारी संस्थाको रकम तलमाथि गरेको आरोप लागेको छ । वडा नम्बर १ सापिङका वडा सदस्य दानकुमारी महत खत्रीले राजनीतिक पहुँचका आधारमा सर्वसाधारणको बचत रकम हिनामिना गरेको स्थानीयले आरोप लगाएका हुन् । 

उर्लेनिस्थित श्री भीमेश्वर महिला कृषक समूह (सहकारी) को अध्यक्षसमेत रहेकी दानकुमारी वडा सदस्यमा निर्वाचित भएपछि पनि यस्तै विभिन्न समूहमा बसेर रकम हात पार्ने गरेको स्थानीयको भनाइ छ । २०७२ सालमा स्थापित उक्त सहकारीको स्थापनाकालदेखि नै अध्यक्ष बनेर उनले बचतकर्तालाई समेत दुर्व्यवहार गर्ने गरेको एक स्थानीयले आरोप लगाए । प्रारम्भमा झण्डै ४५ जना बचतकर्ताबाट थालिएको सहकारी राम्रो हुँदै गएपछि अन्य सदस्यले हरहिसाब देखाउन आग्रह गर्दा सचिवलाई नै विभिन्न आरोप लगाएर दानकुमारीले संस्थाबाट निकालेकोमा उनले गुनासो गरेका छन् ।

सहकारी भवन निर्माणका लागि गाउँपालिकाले ९ लाख रुपैयाँ बजेट छुट्याएपछि कामको जिम्मा दानकुमारी आफैँले लिएकी थिइन् । तर, जब सदस्यहरुले खर्चको हिसाब माग्न थाले त्यसपछि लफडा शुरु भयो, र अहिले एक अर्काबीच आरोप–प्रत्यारोप चलेको छ । भवन निर्माणका लागि आएको बजेटको पारदर्शिताबारे प्रश्न गर्दा अध्यक्ष दानकुमारी चरम असहिष्णु बनेको सहकारीका सचिव यशोधा खत्रीको गुनासो छ । भवन निर्माणको पहिलो किस्ताको रकम निकासा भएपछि त्यसको हिसाब माग्दा उल्टै आफूलाई सचिवबाट हटाएर आफू निकटको मान्छे राखेको उनको भनाइ छ ।
 
सहकारीको हिसाब खुलस्त पार्न माग गर्दा अर्का सदस्य सानुमैयाँ जिसीलाई पनि त्यसैगरी अन्यायपूर्ण ढंगले हटाइएको उनका श्रीमान टीकाबहादुरले दुःखेसो गरे । त्यसो त, सहकारी भवन निर्माणमा शुरुदेखि नै किचलो थियो । त्यसमा दानकुमारीको भूमिकाप्रति आशंका देखिएपछि हिसाब मागेको जिसीले बताए । ‘सुरुमा ३० हजारमा जग्गा दिन सहमति गरेका जग्गाधनीले थप रकम माग्नु र अध्यक्षले हिसाब नदेखाउनुले आशंका बढेको हो’, जिसी भन्छन्, ‘जग्गावालाको भनाइ अनुसार ३० हजार बैना मात्रा लिएको हो भन्ने बुझिन्छ ।’ लेखपढ गर्न नजान्ने आफ्नी श्रीमतीलाई वडा सदस्य दानकुमारीले रातको समयमा सहीछाप गर्न लगाएकोमा पनि उनको गुनासो छ । 

यस्तो किचलोबीच थप १ लाख ५० हजार बजेट विनियोजित भएपछि स्थानीय थप आक्रोशित बनेका छन् । लफडा झन् चर्किने भएपछि दानकुमारीले एक्लौटी निर्णय गरेर पुनः सचिव फेरेकी हुन् । यसअघि यशोधाको ठाउँमा नियुक्त सरस्वती महतलाई निकालेर बिन्दा बानियाँलाई सचिव बनाइएको स्थानीय बताउँछन् । 

‘मन परेको मान्छेलाई ऋण दिने, बचतको रकम आफ्ना आफ्न्तलाई दिने गर्छिन् । किन एकलौटी यस्तो गरेको भन्दा यशोधा र मैयाँलाई सहकारीबाटै निकालियो’, स्थानीय एक पीडितले दुःख पोख्दै भने, ‘उल्टै न्यायपालिकामा हामीविरुद्ध नै उजुरी हालियो । लेखपढ नगरेकालाई सचिव बनाउने, हिसाब अन्तै गराउने अनि हिसाब खोज्यो भने निकालेर आफ्नो मान्छे राख्नुको नियत सहजै अनुमान गर्न सकिँदैन र ! ’

यता, करिब ९ लाखमा बनेको १ कोठे भवन अहिलेसम्म सहकारीको नाममा दर्ता भएको छैन । सहकारीका अध्यक्ष तथा वडा सदस्य दानकुमारी महतले भने आफूले कुनै गल्ती नगरेको दाबी गरेकी छन् । उनले गाउँपालिकाका पूर्वअध्यक्षको सल्लाहमा सचिव फेरेको बताइन् ।   

जनप्रतिनिधिको जिम्मेवारीमा रहेको अवस्थामा किन सबैतिर आफैँ अगाडि सर्नुभयो ? भन्ने जिज्ञासामा उनले भनिन्, ‘सबैले जिम्मेवारी लिन बाध्य पारेपछि बसेको हुँ । कुनै बदमासी गरेको छैन । मलाई ठूला हिसाब गर्न आउँदैन,  स्कुलका सरहरुले भवन निर्माणको हिसाब गर्नुभएको छ । आवश्यक परे कुनै दिन हिसाब देखाउँला’, उनले भनिन् । 

हिसाब देखाउन आनकानी गरेकाले अध्यक्षविरुद्ध १५ जना सदस्यले हस्ताक्षरसहित पालिकाको न्यायिक समितिमा उजुरी पनि हालिएको बताएका छन् । तर, अहिलेसम्म त्यसउपर कुनै कारवाही नभएको सरोकारवालाहरु बताउँछन् ।

टिप्पणीहरू