के मात्र देख्न पाइन्न यो संसारमा ?

के मात्र देख्न पाइन्न यो संसारमा ?

बोर्नियो विश्वको तेस्रो ठूलो अनि एशियाको सबैभन्दा ठूलो टापू हो । वैज्ञानिकहरूले यहाँ ५२ हजार वर्ष पहिला नै मानवबस्ती बसिसकेको पुष्टि गरेका छन् । यसलाई सन् १५११ मै पोर्चुगिजहरूले कब्जा गरेका थिए । पछि यो टापु बेलायत र नेडरल्याण्डको हातमा गयो । यहाँ करिब ५० जनजातिको बसोवास छ । सबैभन्दा ठूलो संख्यामा डायकहरू छन् । इण्डोनेसियाको जनसंख्या २७ करोड ३८ लाख छ भने बोर्नियोमा मात्र २ करोड ४० लाख अनि तीमध्ये डायकहरू ४६ लाख बस्छन् ।

‘तिवाह’ डायक जातिको सबैभन्दा ठूलो पर्व हो । यसमा सबै परिवारका सदस्य आफ्ना परिवारजन र आफन्तको चिहानमा जान्छन्, चिहान खन्छन्, मृतकको कंकाल निकाल्छन् अनि बाजा बजाउँदै गाउँ फर्कन्छन् । कंकाललाई कंकाल राख्न बनाइएको विशेष ’सेडुङ’ घरमा राख्छन् । कंकाललाई मज्जाले सफा गर्छन्, सजाउँछन् । काठको उक्त घरमा झ्याल, ढोका र सानो भ¥याङ पनि हुन्छ । को बुढाबुढी, को युवा, को केटाकेटी सबै रातभर परम्परागत बाजा बजाएर बस्छन्, नाच्छन् । र, मध्यरातमा रांगा ढाल्छन् । भोज खान्छन् अनि भोलिपल्टको दिउँसो बाजागाजा र लावालस्करसहित पुनः चिहान पुगी सफा गरेको कंकाललाई सकुशल गाड्छन् । 

इण्डोनेसियामै अर्को एउटा आदिवासी समूह छ– तिडुङ । यिनीहरू बोर्नियोको उत्तरपूर्वी क्षेत्रमा बस्छन् । यो मलेशिया र इण्डोनेसियाको सीमाक्षेत्र भएकोले तिडुङहरू दुबै देशको सीमाक्षेत्रमा छन् । तिडुङको शाब्दिक अर्थ ’पहाड’ हो । अर्थात पहाडी क्षेत्रका वासिन्दा हुन् यिनीहरू । जनसंख्या ७६ हजार जति छ । यो जातिमा एउटा अनौठो प्रथा छ । युवक युवती जब विवाह बन्धनमा बाँधिन्छन् उनीहरूलाई ३ दिनसम्म शौचालय प्रयोग गर्न निषेध गरिन्छ । विवाह सम्पन्न भइसक्दा पनि बेहुलाले बेहुलीको अनुहार हेर्न दिँदैन । बेहुलाले बेहुलीको लागि कुनै एउटा प्रेम गीत गाउनै पर्ने हुन्छ । गीत गाइसकेपछि मात्र बेहुलीको अनुहार हेर्न अनुमति दिइन्छ । यो रीति सम्पन्न नहुन्जेल दुबैको बीचमा पर्दा राखिएको हुन्छ । गीत सुनेर परिवारजनले ’ठीक छ’ भनिसकेपछि बल्ल पर्दा हटाइन्छ । बिहे समारोहको पुरै अवधिमा दुलहीले आफ्नै घरमा पनि घरको ढोका नाघ्न मिल्दैन । स्वयम्बरको लागि तोकिएको समयमा बेहुला पुग्न सकेन भने बेहुलीको मागअनुसार जरिवाना तिर्नै पर्छ, उक्त जरिवाना प्रायः गहना हुन्छ ।

यी सबैभन्दा अनौठो रीति हो, बिहेपछिको ३ दिन बेहुलाबेहुलीले शौचालय प्रयोग गर्नै नपाउने नियम । यो एक किसिमले नव दम्पतीको लागि कष्टप्रद सजाय भए पनि यो प्रथा अनिवार्य निभाउनै पर्ने हुन्छ । जो कसैलाई पनि १–२ घण्टा पिसाब फेर्न नपाउँदा कष्ट हुन्छ तर तिडुङ जातिमा यो प्रथालाई सामान्य रूपमा लिइन्छ । उनीहरू ३ दिन ३ रात पिसाब नफेरी बस्न सक्दा भाग्य चम्कन्छ, विवाह लामो समयसम्म टिक्छ, झगडा हुँदैन, प्रजनन् क्षमतामा वृद्धि हुन्छ, पाउने सन्तान सानैमा मर्दैन भन्ने विश्वास गर्छन् । यो नियम कडाइकासाथ पालना गर्छन् कि गर्दैनन् भन्ने निगरानी परिवारका सदस्य र आफन्तहरूले गरेका हुन्छन् । बेहुलाबेहुलीले साह्रो कष्ट भोग्नु नपरोस् भनेर यो अवधिमा थोरै खाना र पानी दिइन्छ । यी सबैपछि दुवैलाई नुहाउन लगाएर अनि मात्र सामान्य जीवन जिउन दिइन्छ ।

बोमेनाको अर्थ भुटानको भाषामा ‘केटी खोज्दै हिँड्ने’ हुन्छ । यो प्रथा पूर्वी र मध्य भुटानमा प्रचलित छ । पश्चिमेलीले यो प्रथालाई नाइट हन्टिङ अर्थात रातको शिकार भन्ने गरेका छन् । बिहे गर्ने उमेर भइसकेका नौजवान युवकहरू त्यो रात सुत्दैनन् । मध्यरात भइसकेपछि गाउँतिर डुल्छन् अनि आफूलाई मनपर्ने युवतीको घरको झ्यालबाट सुटुक्क पस्छन् । भुटानको उक्त क्षेत्रका अधिकांश घर दुईतले हुन्छन् र झ्यालका खापाको चुकुल यस्तो परम्परागत किसिमको हुन्छ कि एक खाले उपकरणले बाहिरबाट खोल्न मिल्ने । युवक भित्र पस्छन् । मन पराएकी युवती प्रायः आमाबुबासितै सुतिराखेकी हुन्छिन् । या उनलाई उक्त युवक आउने हेक्का छ भने त्यो रात उनी एक्लै छुट्टै कोठामा सुतेकी हुन सक्छिन् । यदि उनी आमाबुबासँगै सुतेकी रहिछन् भने पनि युवकको आगमनको आहट आमाबुबाले चालै नपाउने गरी सुटुक्क अर्को कोठामा लाग्छिन् । घरमा चोर जसरी पसेका युवक मन पराएकै हुन् भने वा ‘ठीकै छन्’ भन्ने लाग्छ भने उनले त्यो रात ती युवकसँग बिताउँछिन् मस्तले । आत्मसमर्पण गर्छिन् । होइन, मन परेन भने चिच्याइदिन्छिन् । आमाबुबाले लाठी बजाएर केटोलाई भगाइदिन्छन् । यस्तो बेलामा केटोले कुटाइ पनि खान सक्छन् । यदि छोरी सुटुक्क अर्को कोठामा सुत्न गएको आमाबुबाले चाल पाएका छन् र छोरीको चिच्याहट गुञ्जिएन भने आमाबुबाले छोरीले आफ्नो शरीर अन्जान नवयुवकलाई सुम्पिरहेकी छन् भनेर थाहा पाए पनि चाल नपाएको जस्तो गरी बस्न सक्छन् । भोलिपल्टको बिहान यदि आमाबुबाले आफ्नी छोरी युवकसँग सुतिराखेको अवस्थामा देखे भने बिहे गराइदिन्छन् ।

अमेजोन यस्तो जंगल हो, जुन दक्षिण अमेरिकाभरि फैलिएको छ । यसको ६० प्रतिशत भाग ब्राजिलमा पर्छ भने पेरुमा १३ र कोलम्बियामा १० प्रतिशत छ । यसबाहेक  बोलिभिया, इक्वेडोर, फ्रेञ्च गाइना, गुयाना, सुरिनाम र भेनेजुएलामा पनि फैलिएको छ । खासगरी ब्राजिल र भेनेजुएलामा फैलिएको यो जंगलमा एउटा एकखाले आदिवासी बस्छन् ‘यानोमामी’ । २ सयदेखि २ सय पचासवटा जंगलमा बस्ने यिनीहरूको जनसंख्या करिब ३५ हजार छ । यिनीहरूले मनाउने एउटा प्रथा एन्डोकानिबालिज्म’ हो । यो मृतकको दाहसंस्कारको एउटा अनौठो प्रथा हो । चलनअनुसार परिवारजनको मृत्युपश्चात् शवलाई जलाइसकेपछि खरानी जम्मा पार्छन् । उक्त खरानीलाई केरामा मिसाएर पकाउँछन् । सुप बनाउँछन् र परिवारका सबै सदस्यले पिउँछन् । यसो गर्दा मृतकको आत्माले शान्ति पाउने विश्वास राख्छन् ।
 

टिप्पणीहरू