हिमालय एअरलाइन्सले गर्यो बालबालिकालाई सहयोग
हिमालय एअरलाइन्सले नेपाली बालबालिकाको शैक्षिक गतिबिधिमा सहयोग गरेको छ । प्रयास नेपालसँगको ‘क्युमेप टुवार्डस एजुकेशन’ मार्फत् आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै सातौं वर्षसम्म पनि सहयोग जारी राखेको बताइएको छ ।
प्रयास नेपालमा आयोजित कार्यक्रममा शैक्षिक सत्र २०८० का लागि बालबालिकालाई पाठ्यपुस्तक, नोटबुक, रजिष्टर, क्यालकुटेरलगायत शैक्षिक सामग्री सहयोग गरिएको छ ।
एअरलाइन्सले खाना पकाउने र उद्यमशीलता सम्बन्धी सीप सुधार गर्न रेस्टुरेन्टको सुरुवाती पहल ‘लभ एपेटाइट’ को निम्ति विशेष ज्ञान आदानप्रदान सत्र समेत आयोजना गरेको जानकारी दिएको छ ।
सो सत्रमा नेपाल एकेडेमी अफ ट्राभल एण्ड होटल म्यानेमेन्टका प्रशिक्षक आकाश लामाले स्वैच्छिक रुपमा बालबालिका र लभ एपेटाइटका टोलीलाई भान्साको सुरक्षा, सरसफाइ, मेनु योजनामा केन्द्रित भई जानकारी दिएका थिए ।
त्यस्तै, एअरलाइन्सको ब्राण्ड टोलीले प्रचारप्रसारको दृष्टिकोणबाट विभिन्न मार्केटिङ र ब्रान्डिङ प्रविधिमा प्रकाश पारेको उल्लेख छ । विशेष रुपमा डिजाइन गरिएको मेनु र स्टार्टअपलाई अझ प्रभावकारी रुपमा अघि बढाउन उक्त कार्यक्रमले सहयोग पुर्याएको बताइन्छ ।
कम्पनीको उक्त कार्यप्रति गौरव प्रकट गर्दै ब्राण्ड विभाग प्रमुख उज्वला दलीले भने, ‘प्रयास नेपालसँगको हाम्रो वर्षको सहकार्यमा बालबालिकाले हाम्रो पहलमार्फत आफ्नो सपना पूरा गरेको देख्दा हामी साँच्चै खुशी छौँ ।’
यस्ता कार्यले बालबालिकाको शिक्षामा पहुँच वृद्धि हुने र उनीहरुलाई जीवनमा आत्मनिर्भर बन्न सहयोग पुर्याउने बताउँदै उनले बालबालिकाका सपना पूरा गर्न हिमालय एअरलाइन्सको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
सोही क्रममा प्रयास नेपालकी अध्यक्ष मणि जोशीले एअरलाइन्सको निरन्तर सहयोगका कारण बालबालिकाको सिकाइप्रति लगाव विकास गर्न पनि मद्दत पुगेको जानकारी दिएकी थिइन् ।
उनले भनिन्, ‘हिमालय एअरलाइन्सलाई साझेदारीको रुपमा पाउँदा हामी भाग्यमानी छौँ, यसले शिक्षाको महत्व सिकाउँदै समुदायमा सकारात्मक प्रभाव पार्न समर्पित गराउँछ ।’
उनले थपिन्, ‘यस वर्ष एअरलाइन्सले रेष्टुरेन्ट सञ्चालनका लागि युवाहरुलाई सीपमूलक तालिम प्रदान गरेकोमा हामी आभारी छौँ ।’
प्रयास नेपाल सन् २००३ मा शिक्षा, चेतना, सिपमूलक तालिमको माध्यमबाट वञ्चित बालबालिकालाई सशक्तिकरण गर्ने सोचका साथ स्थापित संस्था हो ।
यसले विगत दुई दशकदेखि मुलुकभरका अनाथ, अशक्त बालबालिकाका लागि बाल गृह सञ्चालन गर्दै आएको छ ।
टिप्पणीहरू