यस्तो छ,विवादास्पद भारतीय नयाँ संसद भवनको नालीबेली

यस्तो छ,विवादास्पद भारतीय नयाँ संसद भवनको नालीबेली

विपक्षी दलहरुले व्यापक विरोध गरे पनि आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकको नयाँ संसद भवनको उद्घाटन गरेका छन् । उनले तीन वर्षअघि कोरोना महामारीको समयमा नयाँ भवनको शिलान्यास गरेका थिए ।

संसद भवनभित्र राखिएको ‘अखण्ड’ प्राचीन भारतको नक्साका कारण पनि यतिखेर दक्षिण एसियाली मुलुकहरुमा चर्को विरोध भएको छ । नेपाल,पाकिस्तान, बंगलादेश,म्यान्मार, भुटानका केही भूभागलाई समेटेर अखण्ड नक्सा झुण्डाइएको भन्दै विरोध शुरु भएको हो ।
 
आइतबार बिहान साढे ७ बजेको साइतमा प्रधानमन्त्री मोदीले नयाँ संसद भवनको उद्घाटन गरेका थिए । संसद भवनमा रत्नजडित सुनको बार ‘सेङ्गल’ राखिएको छ । यो प्रयागराज (इलाहाबाद) संङ्ग्रहालयबाट ल्याइएको हो । विपक्षीले ‘सेंगल’ लाई ‘राजदण्ड’ को उपमा दिएका छन् । 

नयाँ भवन पुरानो संसद भवनको परिसरमा बनाइएको हो । यो भवन टाटा समूहले बनाएको बताइएको छ । कोभिड महामारीको समयमा पनि भवन बनाउन झण्डै एक हजार करोड भारतीय रुपैयाँ खर्च गरिएको छ । 

नयाँ संसद भवन र वरपरको क्षेत्रलाई ‘सेन्ट्रल भिस्टा’ नाम दिइएको छ । निर्माणाधीन सो क्षेत्रको कूल लागत २४ हजार करोड रुपैयाँ अनुमान गरिएको छ । नयाँ संसद भवनको नाम पनि नयाँ राख्ने तयारी छ । तर त्यो अझै निर्धारण गरिएको छैन  । 

नयाँ भवनका तीनवटा प्रवेशद्वारको नाम ‘ज्ञानद्वार’, ‘शक्तिद्वार’ र ‘कर्मद्वार’ राखिएको छ । मुख्य प्रवेशद्वारमा ‘सत्यमेव जयते’ लेखिएको छ । चार तले संसद भवन ६४ हजार पाँच सय वर्गमीटर क्षेत्रफलमा फैलिएको छ । 

भवनमा बिच्छाइएको कार्पेट उत्तर प्रदेशको मिर्जापुरबाट ल्याइएको हो । बाँसका सामान त्रिपुराबाट ल्याइएको छ भने भुईंमा त्यो बिच्छाइएको छ । रातो र सेतो बलौटे ढुङ्गा र ग्रेनाइट राजस्थानबाट ल्याइएका हुन् ।

सागौनको काठ महाराष्ट्रको नागपुरबाट ल्याइएको हो भने राजस्थानको राजनगर र दिल्ली नजिकैको उत्तर प्रदेशको नोएडाबाट ल्याइएको ढुंगामा अक्षर कुँदिएको छ । पित्तल गुजरातको अहमदाबादबाट ल्याइएको जानकारी दिइएको छ । राष्ट्रिय चरा मयूर र राष्ट्रिय फूल पद्मलाई लोकसभा र राज्यसभाको भित्री सजावटमा राखिएको छ । 

भारतको यसअघिको संसद भवन सन् १९२७ मा बनाइएको थियो । जनसंख्या वृद्धिसँगै जनप्रतिनिधिको संख्या पनि क्रमशः बढ्दै गएको छ ९६ वर्ष पुरानो भवनमा सांसदको बढ्दो संख्यालाई समायोजन गर्न गाह्रो हुँदै गएको थियो । हाल लोकसभामा ५४३ र राज्यसभामा २५० सदस्य छन् । नयाँ संसद भवनमा ८८८ लोकसभाका सीटहरू राखिएको छ, यसलाई आवश्यकताअनुसार एक हजार २७२ कायम गर्न सकिने बनाइएको छ ।

टिप्पणीहरू