सार्वजनिक यातायात सुधारका लागि नयाँ नियम, होला त कार्यान्वयन ?

सार्वजनिक यातायात सुधारका लागि नयाँ नियम, होला त कार्यान्वयन ?

सरकारले सार्वजनिक यातायात सुधारका लागि यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन गरेको छ । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारी सुधारका निम्ति निर्देशिका संशोधन गरेको हो । 

विभागको हिजो बसेको बैठकले ‘यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६०’ संशोधन गरी केही प्रावधान थप गरेको छ । जसमा सार्वजनिक सवारीको भित्री र बाहिरी भाग सफासुग्घर राख्नुपर्ने छ । सीट खोल, भुँइ, सिसा, पर्दा, सिलिङ अनिवार्य रुपमा सफा गर्नुपर्ने विभागको भनाइ छ । 

त्यस्तै, सार्वजनिक सवारी साधनभित्र धुम्रपान पूर्णरुपमा निषेध गर्नुपर्ने र ध्वनि प्रदुषण हुनेगरी ठूलो आवाजमा संगित बजाउन नपाइने विभागले स्पष्ट पारेको छ । गाडीमा जनस्वास्थ्य विषयका प्रवर्द्धनात्मक सूचना टाँस गर्नुपर्ने, सवारी चालक तथा सहचालकहरुले कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य परीक्षणको गर्नुपर्ने, सवारी साधनबाट संकलन भएको फोहोर तोकिएको ठाँउमा मात्र विसर्जन गर्नुपर्ने नियम बनाइएको छ । 

लामो तथा मध्यम दूरीका सवारी साधन सरसफाइयुक्त खाना खाने स्थान तथा सरसफाइयुक्त शौचालय भएको स्थानमा मात्र रोक्न पाइनेछ । यता, चालक र सहचालकको हकमा पनि सात बुँदे नियम बनाइएको छ । 

चालक तथा सहचालकले नियमित रुपमा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने र टिकट काउण्टरमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा कम्पनीले उपलब्ध गराएको परिचयपत्र लगाउनुपर्ने भएको छ ।

विभागकाअनुसार सवारी चालक तथा सहचालकले पहिचान खुल्ने पोशाक लगाउनुपर्नेछ । उनीहरुले यात्रा अवधिभर धुम्रपान तथा मद्यपान सेवन गर्न नपाउने, यात्रुसंग शिष्ट तथा भद्र बोलीव्यवहार गर्नुपर्ने जनाइएको छ । 

यात्रुलाई गाडीमा रहेको डष्टबिनमा मात्र फोहोर फाल्नका लागि प्रोत्साहन गर्न भनिएको छ । प्रत्यके वर्ष दुई जोरको दरले आफ्ना चालक तथा सहचालकलाई पहिचान खुल्ने किसिमको पोशाक उपलब्ध गराउन विभागले व्यवस्थापकलाई निर्देशन दिएको छ । 

सवारी चलाउँदा चालक र सहचालकलाई यात्रुसंग अनावश्यक कुराकानी नगर्न पनि विभागले आग्रह गरेको छ । त्यसैगरी, मध्यम तथा लामो दूरीमा चल्ने सवारीले छुट्नुअघि र गन्तव्यमा पुगेपछि सन्देशमूलक अडियो बजाउनुपर्ने व्यवस्था गरिएको छ ।

 

टिप्पणीहरू