हिमालय एअरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं उडान थाल्दै

हिमालय एअरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं उडान थाल्दै
सुन्नुहोस्

हिमालय एअरलाइन्सले चीनको अर्को गन्तव्यमा पनि उडान थाल्ने भएको छ । मंसिर १६ गतेदेखि काठमाडौं–सांघाई–काठमाडौं उडान थालिने बताइएको छ ।

एअरलाइन्सले नेपाल र चीनबीचको एअर कनेक्टिभिटीलाई थप विस्तार गर्न नयाँ उडानले सघाउ पुग्ने विश्वास लिएको छ । सांघाई चीनको प्रख्यात र ऐतिहासिक व्यापारिक बन्दरगाह शहर हो । यो चीनको सबैभन्दा ठूलो शहर र आर्थिक केन्द्र पनि हो ।

प्रारम्भमा हप्ताको एक पटक शनिबार हुने उडान डिसेम्बर २७ देखि सातामा दुई पटक शनिबार र बुधबार हुने छ । हिमालयले काठमाडौंलाई यसअघि चीनको राजधानी बेइजिङ र छिङताओलाई सोझो र नियमित उडानबाट जोडिसकेको छ ।

सांघाईको उडानले नेपालको हवाई र पर्यटन उद्योगमा उल्लेखनीय योगदान पुग्ने विश्वास लिइएको छ । यसलाई भूपरिवेष्ठितबाट नेपाल भूजडितमा परिणत हुँदै गएको बताएको एअरलाइन्सले उक्त उडानको बुकिङ खुल्ला भइसकेको जनाएको छ ।

टिप्पणीहरू