विद्युतीय सन्देश खुला,मूल ढोका बन्द

विद्युतीय सन्देश खुला,मूल ढोका बन्द

आर्थिक वर्ष २०८१–८२ को बजेट लेखन आजबाट शुरु भएको छ । अर्थ मन्त्रालयले सूचना जारी गर्दै बजेटको मस्यौदा लेखन कार्य प्रारम्भ भएको जानकारी दिएको हो । 

मन्त्रालयले सरोकारवाला व्यक्ति तथा निकायसँग बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव पनि मागेको छ । आगामी वैशाख मसान्तभित्र सुझाव उपलब्ध गराइदिन विभिन्न संघसंस्था,बुद्धिजीवी, विज्ञ,राजनीतिक दल, व्यवसायी,समाजसेवी, पेशाकर्मी,कर्मचारी, सञ्चारजगत तथा आम नागरिकलाई मन्त्रालयले आग्रह गरेको छ । 

‘आर्थिक वर्ष २०८१–८२ को नेपाल सरकारको बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेको छ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयका सम्बन्धमा आफ्ना अमूल्य सुझाव आगामी २०८१ वैशाख मसान्तभित्र यस मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिनुहुन विभिन्न संघसंस्था, बुद्धिजीवी,विज्ञ, राजनीतिक दल, व्यवसायी,समाजसेवी, पेशाकर्मी,कर्मचारी, सञ्चारजगत तथा आम नागरिकमा हार्दिक अनुरोध गरिन्छ’, सूचनामा उल्लेख छ । 

मन्त्रालयले आफ्नो वेभसाइटमा रहेको ‘बजेट सजेशन ट्याब’ तथा इमेलमार्फत सुझाव पठाउन सकिने जानकारी दिएको छ । बजेट लेखन कार्य जारी रहंदासम्म मन्त्री र कर्मचारीहरु व्यस्त हुने भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले गत शुक्रबार सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गर्नुभएको थियो । सहसचिव रितेशकुमार शाक्य,महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा समितिमा सदस्य रहेका छन् ।


 

टिप्पणीहरू