कारागारमा रवि, सुध्रेला त छबि ?

कारागारमा रवि, सुध्रेला त छबि ?
सुन्नुहोस्

वैशाखको चर्को गर्मीमा भरतपुर कारागारभित्र कैदी÷बन्दी अटेसमटेसको अवस्थामा देखिन्छन् । क्षमताभन्दा तेब्बर बढी कैदी/बन्दी कोचेर राखिएको छ । त्यसमा थुप्रै बिरामीसमेत छन् । बिरामी कैदी–बन्दीको औषधि उपचारका लागि बजेट अभावले समस्या भइरहेको कारागार प्रशासक कमलप्रसाद आचार्यले जानकारी दिए । 

वर्षाैंदेखि समस्याग्रस्त कारागारमा संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अस्ति दलबलसहित पुगेका थिए । शनिबार बिहान पौने ९ बजे भरतपुर कारागार पुगेको गृहमन्त्रीको टोली लगभग ४५ मिनेट बसेर बाहिरिएको थियो । गृहमन्त्रीसँगै उनका स्वकीय सचिव पनि त्यहाँ पुगेका थिए । 

चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, एसपी भावेश रिमाललगायत जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरु, भरतपुर शिक्षालयका प्रहरी नायव महानिरीक्षक सुरेन्द्रप्रसाद मैनाली एवम् प्रदेश प्रहरी कार्यालय हेटौंडाका डिआईजी विष्णुकुमार केसी पनि गृहमन्त्रीको साथमा कारागार कार्यालय पुग्ने टोलीमा थिए । स्थलगत निरीक्षणको क्रममा गृहमन्त्री लामिछानेले कैदी–बन्दीहरुसँग प्रत्यक्ष भेटघाट पनि गरे । कारागारको जल्दोबल्दो समस्याको विषयमा गृहमन्त्री लामिछानेलाई जेलरले सविस्तार अवगत गराए । 

गृहमन्त्री नै चासो राख्दै निरीक्षणमा आएका हुँदा समस्या हल हुनेमा कारागार प्रशासन आशावादी देखिन्छ । ‘हामीले आश राखेका छौं’, प्रशासक कमल आचार्य भन्छन्, ‘तस्बिर आफैं बोल्छ, हामीले भन्नु भन्दा पनि उहाँ आफैंले समस्या अवगत गर्नुभएको छ ।’

आफैं काण्डैकाण्डले मुछिएका भएपनि फेरि मुलुकको गृहमन्त्री भएका हुँदा सुधारको आशा गरिएका लामिछाने चितवन जिल्लाबाटै निर्वाचित प्रतिनिधि पनि हुन् । त्यसैले चितवन र चितवनवासीको उनीमाथि धेरै अपेक्षा देखिन्छ । जम्मा २८० जना कैदी÷बन्दी राख्ने क्षमताको कारागारमा हाल ७३० जना कोचाकोच हालतमा बस्छन् । 

उनीहरुलाई सुत्ने ठाउँको अत्यन्त समस्या भइरहेको जेलर बताउँछन् । त्यसमा बिरामी कैदीबन्दी पनि धेरै रहेको र कारागारमा अहिले छुट्याइएको बजेट अपुग भएकाले औषधिउपचारमा निकै समस्या रहेको उनको अनुभव छ ।

भरतपुर कारागारका कैदी÷बन्दीहरुको स्वास्थ्योपचारका लागि वार्षिक १० लाखको बजेट दिइएको छ । पछिल्लो समय तीन लाख थप भएको छ । तर बिरामीको चापअनुसार १० लाखको तीन गुणा बजेट अत्यावश्यक देखिएको प्रशासक आचार्यको भनाइ छ । 

कारागारमा सामान्य बिरामीदेखि सुगर, प्रेसर, थाइराइड, नसा, हाडजोर्नीलगायत नियमित औषधि सेवन गर्नुपर्ने बिरामी कैदी–बन्दीको संख्या झण्डै तीन सयको हाराहारीमा रहेको उनले बताए । उनीहरुको औषधिउपचारको निम्ति आवश्यक बजेट व्यवस्थापनमा तत्काल गृहमन्त्रीले सहयोगको आश्वासन समेत दिएको बताइन्छ । 

भरतपुर कारागारले कम्तीमा चार सयजना क्षमताको नयाँ बन्दीगृह निर्माणको समेत अपेक्षा राखेको छ । तर, यसबारे गृहमन्त्रीले त्यहाँ केही नबोलेको सहभागीहरुले सुनाए । 
 

टिप्पणीहरू