महरा कमरेडको दर्दनाक एकान्तबास

महरा कमरेडको दर्दनाक एकान्तबास
सुन्नुहोस्

राजनीति कतिसम्म निर्मम हुँदो रहेछ भन्ने कुरा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उहाँका सहयात्रीहरूको सम्बन्धले पुष्टि गरेको छ । जनयुद्धको प्रतिकूल समयमा होस् या राजनीतिका कठिन मोडमा, निरन्तर साथ दिएका नेताहरूलाई क्रमशः किनारामा पार्दै प्रचण्ड भने सत्ताको खेलमा रमाइरहेको सन्दर्भ हो यो । 

त्यसो त, सहकर्मीहरूबीच कृत्रिम अन्तरविरोध सिर्जना गर्ने अनि त्यसैमा खेलेर आफू निरन्तर नेतृत्वमा स्थापित हुने उपयोगितावादको राजनीति गरेको आरोप प्रचण्डमाथि लाग्दै आएको छ । जनयुद्धका बेला मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईबीचको वैचारिक मतभेद उत्कर्षमा पुग्दा उनीहरू अध्यक्षबाट पालैपालो प्रयोग भएको भन्ने गरिन्छ । आफूपछिको वरीयताका यी दुवै नेता अहिले प्रचण्डको साथमा छैनन् ।

कुनै समय ‘म अध्यक्ष कमरेड प्रचण्डमा बिलय भएँ’ भन्ने रामबहादुर थापा नेतृत्वले पार्टीमा टिक्न नदिएको आरोप लगाएर एमाले रोज्न पुगे । जनयुद्धताका प्रचण्डको उत्तराधिकारीका रूपमा चर्चा गरिएका नेत्रविक्रम चन्द विप्लव पनि अर्कै कित्तामा छन् । देव गुरुङलाई महासचिव बनाउनकै लागि प्रचण्डले वर्षमान पुन र जनार्दन शर्मालाई भिडाएको चर्चा माओवादी वृत्तमा अहिले पनि हुने गर्छ । 

यता, जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै संविधान निर्माणको जटिल प्रक्रियामा प्रचण्डको बलियो सारथि बनेर उभिएका कृष्णबहादुर महरालाई पनि त्यसैगरी मिल्काइएको छ । पार्टी अध्यक्ष देशको कार्यकारी प्रमुख रहेकै बेला प्रहरी हिरासतमा पुगेका उनी बुढ्यौलीसँगै रोगले थलिएका छन् । जीवनको ऊर्जाशील समय पार्टी र आन्दोलनमा बिताएका उनलाई अहिले कतैबाट पनि आड भरोशा छैन ।

अध्यक्ष प्रचण्ड सिंहदरबारमा सत्ताको हिसाब मिलाउन व्यस्त रहँदा फोन सम्पर्क र पिएसओको साथ बिना खुमलटारस्थित भाडाको घरमा गुमनाम जिन्दगी बिताइरहेका महराले पार्टीबाट सान्त्वनाको आससमेत मारिसकेका छन् । भेट्न आउने शुभचिन्तकहरूले सोध्दा विरक्त मान्दै भन्ने गरेका छन्, ‘पार्टी पनि छ र !’

आफैँ रोगले ग्रस्त महराको पारिवारिक पीडा झन् दर्दनाक छ । चार वर्षअघि जीवनसंगिनी गुमाएका उनलाई अहिले तातोपानी तताएर दिने मान्छेसमेत छैन । छोरो राहुल जेलमा छन् भने जेठी छोरीलाई प्यारालाइसिस भएको छ ।

अर्कोतिर मासिक घरभाडा कसरी तिर्ने भन्ने चिन्ता उस्तै छ । खर्चपर्च कसरी मिलाउनुभएको छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘मागेर खाने, अरु के गर्ने !’

माओवादी आन्दोलनभित्र मात्र होइन, राष्ट्रिय राजनीतिले समेत उपयोगितावादको प्रचण्ड नीतिको भर्पाइ गरिरहेको छ । कमजोर संसदीय गणितका बाबजुद कांग्रेस र एमालेसँग पालैपालो समीकरण मिलाएर प्रधानमन्त्रीमा टिक्ने प्रचण्डको रणनीति मूलतः उपयोगितावादको पुरानै सिद्धान्त हो भन्ने कुरा हालैका केही घटनाले पुष्टि हुँदै छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटनयता निरन्तर साथ दिँदै आएका थिए । संसद विघटनविरुद्धको सडक संघर्षदेखि सत्ताको जोड–घटाउमा यी दुई नेता सधैँ प्रचण्डको खम्बा बनेर उभिए । तर, जसपा विभाजनसँगै प्रचण्डसँग माधव र उपेन्द्रको दूरी बढेको छ । संसद विघटनमा जसका विरुद्ध संघर्ष गरेको हो, उसैको साथ लिएर प्रधानमन्त्रीले सत्ता साझेदार दल जसपा फुटाएको आरोप लागिरहेको छ ।

यसबीच विकसित राजनीतिक घटनाक्रम र स्वयं प्रधानमन्त्रीका सार्वजनिक अभिव्यक्तिबाट पनि त्यस्ता आरोपमा सत्यता देखिन्छ । किनभने प्रधानमन्त्री र एमाले अध्यक्षले सार्वजनिक मञ्चबाटै ‘सरकार जोगाउन पार्टी फुटाएको’ घुमाउरो स्वीकारोक्ति दिइसकेका छन् । सत्ताको अंकगणित मिलाउन रवि लामिछानेलाई च्यापेर लामो समयदेखिका सहयात्री र यौटै मोर्चामा रहेका उपेन्द्र र माधवलाई कर्नरमा पार्ने राजनीति निर्मम मात्र होइन निर्लज्ज पनि हो ।

अमेरिकाबाट फर्केलगत्तै बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका उपेन्द्रले पार्टीका शीर्ष नेताहरूको बैठकमा प्रचण्ड र ओलीको संलग्नतामा पार्टी फुटाइएको ब्रिफिङ गरेका थिए । सो भेटमा प्रचण्डले ‘तपाईं अर्को गठबन्धन बनाउन लाग्नुभएको भनेर इन्फर्मेसन आइरहेको थियो, त्यतिबेलै तपाईंका मान्छे पनि सहयोग गर्छौँ भनेर आएपछि यो घटना घट्यो’ भनेको रिपोर्टिङ उपेन्द्रबाट सुनेका एक नेता भन्छन्, ‘यसको सिधा अर्थ सरकार जोगाउन हामीले पार्टी फुटाइदियौँ भनेको हैन र !’

त्यस बैठकमा पार्टी फुटमा आंशिक रूपमा बाह्य प्रभावले पनि काम गरेको चर्चा भएको थियो । यद्यपि, भारत संस्थागत हिसाबले भने आफ्नो पार्टी फुटाउन नलागेको सो पार्टीका नेताहरूले निश्कर्ष निकालेका छन् । खासगरी प्रदिप यादवले आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतलाई प्रयोग गरेको उनीहरूको बुझाइ छ ।

पार्टी फुटाउन मुख्य भूमिका खेलेका प्रदिपलाई उपेन्द्रको ठाउँमा स्वास्थ्यमन्त्री बनाइएकाले पनि त्यस्तो खेल भएको हाम्रो अनुमान हो’, बैठकमा भएका छलफलको निश्कर्ष सुनाउँदै एक नेताले भने । 

स्मरण रहोस्, दल विभाजनसम्बन्धी कानुनलाई खुकुलो बनाउन अध्यादेश ल्याएर साना पार्टी फुटाउने तयारी भइरहेको समाचार जनआस्थामा प्रकाशन भएको थियो । सरकार जोगाउने र वैकल्पिक गठबन्धन बनाउने ठूला पार्टीको प्रयासमा साना दल फुट्ने खतरा औँल्याइएको उक्त समाचारमा त्यसनिम्ति भित्रभित्रै केही पाकिरहेकोतर्फ सतर्क गराइएको थियो ।

तथापि, त्यही आसपास अमेरिका उड्नुअघि उपेन्द्रले पार्टीको बैठकमा ‘माधव नेपालको बार्गेनिङ घट्दै गएकाले सरकारलाई खतरा नरहेको’ ब्रिफिङ गरेका थिए । तर, सरकार ढाल्ने चलखेल गरेको आरोप लगाउँदै उनी अमेरिका रहेकै बेला प्रतिनिधिसभाका १२ मध्ये ७ सांसद लिएर अशोक राईले पार्टी फुटाइदिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू