चोरीको सामान फर्काएर पुग्ला ?

चोरीको सामान फर्काएर पुग्ला ?

सामान्य नियमलाई दरकिनार गर्दै एउटा प्रशासक किन उही मन्त्रालयमा खम्बा गाडेर बस्न खोज्छ भन्ने प्रश्न रक्षा सचिव किरणराज शर्मातिर सोझिएको छ । उनले रक्षा सचिवका रूपमा अढाई वर्षभन्दा बढी बिताइसके । यसका पछि एमाले महासचिव शंकर पोखरेल र रक्षामन्त्री हरि उप्रेतीको आर्शिवाद भएको बताइन्छ ।

हरि उप्रेतीले शर्मालाई चलाउनै हुन्न, सेना रिसाउँछन् भन्दै नेताहरुलाई गुमराहमा राख्ने गरेको बताइन्छ । इश्वर पोखरेल रक्षामन्त्री हुँदा सचिवको अदलाबदलीलगायत विषयमा कुरा नमिलेपछि उनलाई जिम्मेवारीबाट हटाइएको प्रकरण अघि सार्दै हालका मन्त्रीले नेतालाई कन्भिन्स गर्ने गरेको र यी सबै कुराको सिकाइ गर्ने व्यक्तिका रूपमा पर्वत घर भएका शर्मा नै रहेको बताइन्छ । पदपूर्ति समितिको बैठक दिनको १०।१५ वटै राखेर भत्ता बुझ्ने गरेको दाबी पनि स्रोतले गरेको छ । 

रक्षा सचिव भएपछि हातहतियार, फास्ट ट्रयाकलगायतका कामसँग जोड्ने नै भए । लालबाबु पण्डितले सामान्य प्रशासन मन्त्री हुँदा डिभी र पिआर लिनेहरूलाई जागिर छोड्नुपर्ने निर्देशन दिएका बखत इमान्दार उमाकान्त पराजुलीले न्यूजिलेन्डमा आफ्नो परिवार रहेका कारण जागिरबाट विदा भए तर शर्माविरुद्ध अमेरिकी पीआर लिएको आरोप लागे पनि त्यसलाई अस्वीकार गर्दै आएका छन् । श्रीमती, छोरा, बुहारीहरूले अमेरिकन पिआर लिएर अमेरिकामैं बस्दै आएका छन् ।

शर्माले पिआर त्यागेको दाबी झुठो रहेकाले गहन अनुसन्धान गर्दा सबै कुरा छर्लङ्ग हुन्छ । शर्माले पिआर छोडेको दाबी साँचो मान्ने हो भने पनि मैले चोरेको सामान फिर्ता दिएँ अब फुर्सद पाऊँ भन्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न भने यथावतै रहन्छ ।

ललिता निवासमा एमाले उपाध्यक्ष विष्णु पौडेल र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीले जग्गा फिर्ता दिएर उन्मुक्ति पाएजस्तै अमेरिकन पिआर फर्काएकोले माफी पाउन संभव हुन्छ र ! कहाँ, कस्लाई बुझाए पिआर ! खै प्रमाण !

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू