त्रिशुलीमा बेपत्ता यात्रुका आफन्तलाई सित्तैंमा खाना
चितवनको नारायणघाट–मुग्लिङ्ग सडकको सिमलतालमा लेदोसहितको पहिरो खस्दा बगेका दुई बससँगै बेपत्ता पाँच दर्जनबढी यात्रुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले निःशुल्क खाना खुवाउने भएका छन् ।
होटल व्यवसायी संघ चितवनले बेपत्ता यात्रुको खोजीमा आएका उनीहरुका आफन्तलाई सित्तैंमा खाना र बासको व्यवस्था गरिएको जानकारी दिएको छ ।
‘बाढीपहिरोलगायतका प्राकृतिक प्रकोप अकस्मात हुने घटना भएकोले पहिरोमा परी बेपत्ता भएका आफन्तको खोजी कार्यको लागि आउँदा पैसा नहुने र पैसा नभएकै कारण आफन्तको खोजी कार्य नरोकियोस् भन्ने हेतुले बेपत्ताका आफन्तलाई चितवनका होटलहरुमा निःशुल्क खाना बस्नको व्यवस्था गरिएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
गएराति पहिरो जाँदा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स बस नारायणघाट–मुग्लिङ्ग सडकखण्डको सिमलतालमा बगेको हो । एन्जल बसमा सवार २४ जना र गणपति डिलक्सका ४१ जना गरी ६५ जना यात्रु बेपत्ता छन् ।
टिप्पणीहरू