पदमा हुँदा यतिसम्म पेल्छन्

पदमा हुँदा यतिसम्म पेल्छन्

सरकार धर्मराएपछि थुप्रैका सपना र सम्भावना चौपट भएका छन् । त्यसमध्ये अख्तियार प्रमुख बनाउन खोजिएका लीलामणि पौडेलदेखि रवि लामिछानेको लहलहैमा लागेका एआइजी श्यामलाल ज्ञवालीसम्म चर्चित छन् ।

अख्तियार प्रमुख प्रेम राईलाई वाइडबडी जहाज खरिद र नक्कली भुटानी प्रकरणको भाउँतो लगाइदिने र उनको ठाउँमा पूर्वमुख्यसचिव लीलामणि पौडेललाई ल्याउने खेल थियो । धन्न, सरकार ढल्ने र रवि शक्तिबाट बाहिरिने लाइन असार १७–१८ मै क्लियर भयो र मात्रै, नत्र श्यामलाल यतिबेला अख्तियारको आयुक्त बन्नलाई ठिक्क परेर बसेका हुन्थे । ५२ भाइ हटाउँदा २ राजदूतजस्तै अख्तियार आयुक्त रविको भागमा पर्छ भनेर श्यामले घर जाने बेला रहर गर्ने नै भए । त्यसका निम्ति प्रहरीकै बर्दी लगाएर अघिल्लो नेतृत्वले गरेको कामको स्वामीत्व ग्रहण नगर्ने घोर बेइमानी काम यसबीच गरे । प्रहरी अभिलेख (डोसियर) मा २०२५/०५/२६ जन्ममिति भएका श्यामको जागिर आउने भदौको २५ गते राति १२ बजेसम्ममात्रै बाँकी छ । त्यसैले दुई महिना पहिल्यै राजीनामा दिएर अख्तियारको आयुक्त हुने चाहना थियो ।  

नेपोलियन बोनापार्टले ग्लोब घुमाएर संसार जित्ने युद्धको नीति बनाएजस्तो श्याम र दीपक बोहोराहरु कसलाई कहाँ हान्ने, कसरी हान्ने ? जस्ता योजना बनाउनमा व्यस्त थिए । तर, सरकार ढल्ने निश्चित भएपछि उनीहरुको यस्तो अचाक्ली एकाएक सुस्ताएको छ । नत्र, कैलाश सिरोहियालाई दुःख दिएजस्तो न्युजपोर्टल अनलाइन खबरका धर्म भुसाललाई क्रिप्टो करेन्सीमा संलग्नता देखाउँदै सताउने तयारी थियो । 

गत हप्ता मात्रै रविलाई रिझाउनका लागि श्यामले संसदीय समितिमा गएर पोखराको सूर्यदर्शन सहकारीमा रवि लामिछानेको संलग्नताबारे कुनै अनुसन्धान नै नभएको सफेद झुठ बयान दिएका छन् । जबकि, उनी सिआइबी प्रमुखमा हाजिर हुनुअघि नै किरण बज्राचार्यको कार्यकालमा इन्स्पेक्टर प्रदीप क्षेत्री र एकजना वरिष्ठ सईसहित ४ जना काबिल अफिसरलाई पत्र नै लेखेर उक्त सहकारी घोटाला छानबिनका निम्ति खटाइएको थियो । पोखरा महानगरपालिकाको आग्रहमा सिआइबीले तिनलाई पोखरामै पठाएर गरेको अनुसन्धान अनुसार उनीहरुको मेहनतमा प्रतिवेदन तयार भएको हो । तर, श्यामले संसदीय छानबिन समितिसामु झुट बोलिदिए । वास्तवमा कुरा किरण र श्यामको भएन, गएका मान्छे संस्थाका हुन् । त्यसैले संस्थाको भाषा बोल्नुपर्ने थियो ।

तर, अर्कैको भाषा बोलेको भनी उपत्यकाका प्रहरीहरु चर्चा गर्छन् । उक्त अनुसन्धान क्रममा काठमाडौंस्थित नेचर हर्बबाट काठमाडौं परिसरका तत्कालिन एसएसपी भूपेन्द्र खत्रीको टोलीले केही सबुत बरामद गरी पोखरा पठाएको थियो । श्यामले रविको फन्को मारिरहँदा उनको संगठनका आइजी बसन्त कुँवर भने खुट्टा कमाउँदै संसदीय छानबिन समितिमा बयान दिन पुगेका थिए । 

अघिल्लोपटक संसदीय समितिमा पुगेर रविलाई पूरै चोख्याउँदा विवादमा मात्रै आएनन्, अर्को सरकार बन्ने सुरसार चल्दा पद नै धरापमा पर्नेजस्तो भएर यसचोटि हतास मनस्थितिका साथ संसदीय छानबिन समितिलाई बयान दिन पुगेका थिए । पहिला संसदीय समितिमा बोल्दा ‘हालसम्मको प्रमाणले अपराधी घोषित गर्न सकिँदैन’ भनेका थिए । जबकि, सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टिभीमा गएको रकमको जिम्मेवार उनी स्वयंसमेत रहेको अनुसन्धानबाट खुलिसकेको थियो । अहिले पूर्वेली एकजना एआईजीले उनलाई अमेरिकाबाट फर्केलगत्तै सल्लाह दिएका छन्, ‘अब काँध थाप्ने काम नगरौं, जान्छ भने जाओस् !’ 

त्यसमाथि आइजी बसन्त कुँवरसँग रविको सम्बन्ध राम्रो छैन । सम्बन्ध बिग्रनुमा सहकारी अनुसन्धानमा सहयोग गरोस् भन्ने चाहना पूरा नगर्नु मुख्य कारण हो । ‘जे मन लाग्यो, त्यही भन्छ’ भन्दै केही दिनयता उनी आफ्ना निकटस्थसँग भन्न थालेका थिए । रविले नागरिकता प्रकरण त्यति बलियो नबनेपछि कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई अझै ‘केही’ गरे हुन्थ्यो भन्ने अपेक्षा राखेका थिए । कैलाश नागरिकता पाउनु नपर्ने व्यक्ति हैनन् भन्ने कुरा त अनुसन्धानबाटै खुलिसकेको छ । प्रश्न छ– दाजुहरु नागरिक हुन्छन् भने कैलाश किन नहुने ? कीर्ते गरेको हो कि भन्नलाई ढड्डामा कैलाशले लेख्ने हैन, कर्मचारीले लेख्ने हो । यही विषयलाई लिएर गृहमन्त्रीकै कार्यकक्षमा एकजना एसपीले ठाडै भनेका थिए– ‘जुन शैलीमा समातिएको छ, त्यसमा तपाईंको तरिका ठीक छैन हजुर, त्यो गिरफ्तारी लोकतान्त्रिक हिसाबको होइन । त्यसमा आग्रह, पूर्वाग्रह छैन भन्ने कुरा हामीले स्थापित गर्नै सकेनौं ।’

यसैमा रविलाई एकजना पूर्व न्यायाधीशको सुझाव थियो, समात्नु र कारवाही नै चलाउनु थियो भने अरु विषयमा तान्न सकिन्थ्यो होला । सम्पत्ति शुद्धिकरण मुद्दाअन्तर्गत वा कर छलेको विषयमा अनुसन्धान गर्दा हुन्थ्यो होला । नागरिकता त ठीक नभए खारेज हुन्छ, यसमा थुनेर कारवाही गर्ने कुरा हुँदैन । बाबु, दाजु वैधानिक हुने, भाइछोरामात्रै अवैधानिक हुनुपर्ने कारण छैन । 

कैलाशमाथिका प्रश्न अरु नै होलान् भनेपछि रविले सिंगापुरमा पैसा लगेकोबारे अनुसन्धान गराउन चाहेका थिए । व्यक्ति धनी भइरहने, त्यहाँ काम गर्ने पत्रकारले तलब नपाउने कुरामा टेकेर अनुसन्धान गर्दा केही पत्ता लाग्न सक्ला । छोराको विवाहमा चार–पाँच दिनसम्म पाँच तारे होटलमा भोज भतेर चल्ने, मिडियाका पत्रकार र मजदुर बेतलबी भइरहने कुराबाट अनुसन्धान गर्दा पनि हुन्थ्यो होला । तर, जेमा टेकेर कैलाशलाई समातियो, त्यो पूर्वाग्रहको पनि हद भएको तीनै न्यायाधीशको टिप्पणी थियो । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू