ठूलो पदमा नेपाली सेना जानै नहुने ?

ठूलो पदमा नेपाली सेना जानै नहुने ?
सुन्नुहोस्

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली सेनाको सैनिक सल्लाहकार पदमा कार्यरत रहन नागरिकतामा केरमेट गरेबापत हालै बर्खास्तीमा परेका कर्णेल दिरेन्द्रकुमार मल्लको ठाउँमा रोहित गुरुङ जाने भएका छन् ।

हाम्रो सेनाको तर्फबाट सैनिक सल्लाहकारमा कार्यरत व्यक्ति नै कारबाहीमा परेको अवस्थामा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सेनाको छविमा कस्तो प्रभाव प¥यो होला विवेचना गर्नुपर्ने हुन्छ । परिवारसहित न्यूयोर्क गएर बच्चासमेत विद्यालयमा भर्ना भइसकेको अवस्थामा अचानक बोलाई सैनिक प्रहरीको हिरासतमा राखेर मल्ललाई बर्खास्त गरिएको थियो । पहिले नै आवश्यक छानबिन नगरी कसको सिफारिस र जोडबलमा उनलाई न्यूयोर्क पठाइयो ? अब जान लागेका रोहित गुरुङको पनि नागरिकता, शैक्षिक प्रमाणपत्र सम्बन्धमा बेलैमा छानबिन नभए त्यही अवस्था नदोहोरिएला भन्न सकिन्न ।

यसैबीच, २०८२ साल वैशाख ९ गते अवकाश हुने उपरथी सागर थापालाई युएनको गोलानहाइट स्थित सैनिक मिशन प्रमुखमा पठाउने निर्णय भएको छ । उमेर हद रहेका अन्य जर्नेल हुँदाहुँदै उनलाई नै सिफारिस गर्नु आफैंमा उदेकलाग्दो विषय हो । यसअघि सोही स्थानमा रथी ईश्वर हमाल अवकाशपछि कार्यरत रहँदा वहाँको कार्यप्रभावकारितामा ह्रास आएको कतिपय अधिकृतहरु अहिलेसम्म पनि टिप्पणी गर्दैछन् । 

गोलानहाइटमा हालसम्म रथी निर्मल थापा कार्यरत छन् । उनी पदावधि पूरा गरेर फर्कने भएपछि जंगी अड्डाले सागर थापाको मनोनयन गरेको हो । राष्ट्र संघका महासचिवको सैनिक सल्लाहकार (मिलएड) पद दुई तीन महिनादेखि रिक्त छ । विगतमा हाम्रो तर्फबाट युएनको उच्च पदमा रथी चित्रबहादुर गुरुङ मात्र पुगेका थिए । उनी डेपुटी हुँदै महासचिवको सहायक मिलएडसम्म भए । उक्त पद प्राप्तिका लागि पहल भएमा ठूलो उपलब्धि हुने देखिन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू